काठमाडौं । प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि दल दर्ता प्रक्रिया सुरु भएको छ । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन आगामी वैशाख १० गते हुँदैछ । त्यसका लागि तय भएको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि दल दर्ता गर्न लागेको जनाएको छ ।
यही चैतको १२ गतेसम्म दल दर्ता गरिसक्न आयोगले सूचना जारी गरेको छ । आयोगका अनुसार त्यसपछि अरु प्रक्रिया सुरु हुनेछ । विभिन्न कारणले रिक्त भएका तीन प्रतिनिधि सभा सदस्य पदका लागि वैशाख १० मा उपनिर्वाचन हुँदैछ । तनहुँ–१, बारा–२ र चितवन–२ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।
तनहुँ–१ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो । यस्तै, चितवन२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि उपनिर्वाचन हुने भएको हो ।