Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको कालिञ्चोक क्षेत्रमा चैत महिनामा भारी हिमपात

चरिकोट । बोलीचालीको भाषामा हिउँद यामको गर्मीलाई ‘चैत्र बैशाखको धुप’ भन्ने गरिन्छ । अत्याधिक गर्मीलाई प्रतिकात्मक शब्दमा ‘धुप’ भनिएको हो । तर अत्याधिक गर्मी हुनुपर्ने मौसममा कहिलेकाही हिमपातसँगै चिसो हुने गर्दछ । 
दोलखाको प्रसिद्ध कालिञ्चोक क्षेत्रमा यो पटक त्यस्तै भएको छ । चैत महिनामा हिमपात हुँदा स्थानीय दंग परेका छन् ।

प्रायः पुस, माघ र फागुन तीन महिना मात्रै व्यापक हिमपात हुने यस क्षेत्रमा चैतमा समेत भारी हिमपात भएको हो । स्थानीय होटल व्यवसायीका अनुसार सोमवार रातिदेखि मंगलबार बिहानसम्म लगातार हिमपात भएको छ । लगातार हिमपात हुँदा झण्डै दुई फिट बढी हिँउ जमेको छ । भारी हिमपात भएकाले बोलेरो गाडीमा चेन लगाएर पर्यटक ओसार्न थालिएको छ । 

यो वर्ष दोलखामा सिजन सकिएपछि बेमौसमी हिमपात भएको हो । यो बर्ष गत फागुन १३ गते दिउँसो छोटो समय हिमपात भएको थियो । त्यसपछि चैत्र ४ गते दिउँसो हिमपात भएको थियो । काठमाण्डौंबाट छोटो दुरी पर्ने भएकाले यस क्षेत्रमा हिँउसँग रमाउने पर्यटकहरुको भीड लाग्ने गर्दछ । हिमपात भएपछि कालिञ्चोक क्षेत्रमा पर्यटकहरुको चहलपहल बढेको छ । 

जलवायु परिवर्तनका कारण बेमौसममा हिमपात भएको हुनसक्ने अनुमान छ । हिमपातका कारण जिल्लामा चिसो बढेको छ भने कालिञ्चोक क्षेत्र सेताम्ये देखिएको छ। लामो समयपछि जिल्लामा हिमपात र वर्षा हुँदा किसान र होटल व्यवसायी खुशी छन् । 
 

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update