काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट सोमबार दोस्रो पटक विश्वासको मत लिएका छन् । प्रधानमन्त्री दाहालले तीन महिनाको अबधीमा दोस्रो पटक विश्वासको मत लिनु परेको हो । उनी चुनावी गठबन्धन त्यागेर एकाएक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर पुस १० गते तेस्रोपटक प्रधानमन्त्री बनेका थिए ।
सोमवारको बैठकमा प्रधानमन्त्री दाहाललाई १७२ सांसदले विश्वासको मत दिएका छन् । बैठकमा उपस्थित २६२ सांसदमध्ये दाहाललाई विपक्षमा ८९ सांसदले मत दिए । त्यस्तै नेमकिपा मत दिन्न भन्ने पक्षमा उभिएको छ । सरकार गठन र सभामुख चयनका बेला तय भएको सत्तारुढ गठबन्धनलाई प्रधानमन्त्री आफैंले परित्याग गरी राष्ट्रपति निर्वाचनमा अर्कै समीकरणमा लागेपछि प्रधानमन्त्री दाहालले तीन महिनाको अन्तरालमा दोस्रोपटक संसद्बाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।
माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललाई यस पटक कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एस, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, ३ जना स्वतन्त्र सांसद र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएका हुन् ।
यस पटक एमाले र राप्रपाले प्रधानमन्त्री दाहालको विपक्षमा मतदान गरे भने एक सांसद रहेको नेपाल मजदुर किसान पार्टी तटस्थ रह्यो । यसअघि पुस ११ मा शपथ लिएका दाहालले पुस २६ मा विश्वासको मत लिएका थिए ।