Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाका तीन क्याम्पसको स्ववियुमा तीन विद्यार्थी संगठनको नेतृत्व

चरिकोट । दोलखाको ११ वटा क्याम्पसहरु मध्ये आईतवार तीन वटामा स्ववियू निर्वाचन सम्पन्न भएको छ । जिरीस्थित जिरी क्याम्पस, कालिञ्चोक गाउँपालिका सिंगटी स्थित प्रताप स्मृति क्याम्पस र बैतेश्वरको नाम्दु स्थित त्रिपुरा क्याम्पसमा स्ववियु निर्वाचन भएको हो । तीन क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनमा फरक तीन विद्यार्थी संगठनका नेतृत्व विजयी भएका छन् ।

सत्तारुढ दल निकट विद्यार्थी संगठन गठबन्धन संयुक्त प्यानल बनाएर चुनाव लडेका थिए भने एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको थियो । निर्वाचनबाट जिरीको जिरी क्याम्पसको स्ववियु सभापतिमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट ज्योति खड्का बिजयी भएकी छन् । खड्काले २ मत बढी ल्याएर गठबन्धनका उम्मेदवार विनोद बस्नेतलाई पराजित गरेकी हुन् ।

उनले २३ मत पाएर विजयी हुँदा गठबन्धनका उम्मेदवार बिनोद बस्नेतले २१ मत पाएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै सचिबवमा भने गठबन्धनका लिला जिरेल २३ मत पाएर विजयी भएका छन् । कोषाध्यक्ष अनेरास्वयुकै लक्ष्मी कार्की र सदस्यहरुमा अखिलकै आकृति खड्का,कुशल कार्की र सरोजकुमार जिरेल निर्वाचित भएका छन् ।

यसैगरी प्रताप स्मृति कलेजको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका रुपेश अर्याल बिजयी भएका छन् । उनले अनेरास्ववियुका बालकृष्ण ओलीलाई पराजित गरेका हुन । अर्यालले ६३ मत प्राप्त गर्दा ओलीले ३२ मत पाएका छन् । स्ववियु निर्वाचनमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी, नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा एकिकृतबाट अर्याल निर्वाचित भएका हुन् ।

सचिवमा गठबन्धको तर्फबाट नेविसंघका उम्मेदवार गुप्तराज मैनाली, कोषाध्यक्षमा गठबन्धनका अखिल क्रान्तिकारीकी लक्ष्मी ओली निर्वाचित भएकी छिन् । उनले ६८ मत प्राप्त गरेकी छिन् । यस्तै सदस्यमा गठबन्धनको तर्फबाट हितबहादुर तमाङ, राजन नेपाली र सृष्टि पाण्डे निर्वाचित भएका छन् । 

 यता बैतेश्वरको नाम्दु स्थित त्रिपुरा क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेविसंघका सरोज थापा निर्वाचित भएका छन् । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका सत्कार खत्रीलाई पराजित गर्दै उनी सभापतिमा निर्वाचित भएका हुन् । थापाले २५ मत प्राप्त गरेका छन् भने खत्रीले १२ मत पाएका छन् ।

सचिवमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका कपिल राउत, कोषध्यक्षमा नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियुको तर्फबाट उम्मेवार बनेकी पवित्रा गिरी र सदस्यहरुमा गठबन्धनको तर्फबाट रनिसा तमाङ, आशिशा घिमिरे, विनु घिमिरे निर्वाचित भएका छन् । 

जिल्लाको गौरीशंकर बहुमुखी क्याम्पस, चरिकोट क्याम्पस, हनुमन्तेश्वर, शैलुङ, गोल्मेश्वर, सुनखानी, मेलुङ र हिम्स कलेजको स्ववियु निर्वाचन भने स्थगित छ । 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update