काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याको समिक्षा गर्ने तयारी गरेका छन् । समस्या समाधानका लागि उनले बृहत् समीक्षा बैठक बोलाउने भएका हुन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो जानकारी दिएका हुन् ।
बैंक तथा वित्तीय संस्थाप्रति बढेको आक्रोश र जनगुनासोलाई समेत प्याकेजमा सम्बोधन गर्न बृहत् समीक्षा बैठक बोलाउने उनले बताए । बैंक तथा वित्तीय संस्थाहरूको कार्यप्रति समीक्षा आवश्यक रहेको र त्यसबाट समस्या पहिचान गरी समाधान गर्ने उनले बताए । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी बोर्डले नियमित अनुगमन र सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए ।