काठमाडौँ । निर्वाचन आयोगले यही चैत ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेध गर्ने भएको छ । फागुन ३० गते राति १२ बजेपश्चात् मतदानको दिन चैत ३ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने आयोगले जनाएको छ ।
निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने आचारसंहितामा व्यवस्था छ ।
मौन अवधिमा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको छ । आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जितरहारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य गर्न हुँदैन ।
उपराष्ट्रपतिका लागि अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी यादव, ममता झा, रामसहाय प्रसाद यादव गरी ४ जनाको उम्मेदवारी दर्ता भए पनि प्रमिलाकुमारीले भने उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छिन् ।