Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
रामेछापमा अदालतको फैसला बिरुद्ध प्रदर्शन र तोडफोड

रामेछाप । रामेछापमा जिल्ला अदालतले गरेको फैसला बिरुद्ध प्रदर्शन र तोडफोड भएको छ । अदालतले जबर्जस्ती करणी उद्योग सम्बन्धी मुद्दामा पवन कठायतलाई सफाइ दिने फैसला सुनाएको थियो । फैसलापछि पीडित विनु यादव र उनका समर्थकहरूले सोमबार साँझ अदालत परिसरमा प्रदर्शन तथा तोडफोड गरेका हुन् । 

जिल्ला न्यायाधीश इन्दिरा शर्माको इजलासले जबर्जस्ती करणी उद्योग गरेको आरोपमा परेको उजुरीको फैसला गर्दै आरोप प्रमाणित नहुने ठहर गरेको थियो । फैसलाबिरुद्ध अदालत परिसरमा रहेका यादव र उनका सहयोगीले न्यायाधीश शर्मा र फैसला प्रति आपत्ति जनाउँदै अदालतअघि राखिएका केही गमला फुटाउनुका साथै मूलढोका नजिक राखिएका पानीको घडा ढालेका छन् । 

परिसरमा विनु यादव र उनका सहयोगीले न्याय सम्पादनप्रति प्रश्न उठाउँदै नाराबाजी गरेका थिए । आक्रोशित समूहले रुँदै गालीगलौज गर्दा अलालतको ढोका लगाइएको थियो भने परिसरमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो । केही बेर प्रदशनको क्रममा विनु यादवले पटकपटक आफूले अन्याय भोग्नु परेको भन्दै आफूले जहिल्यै पीडामा बस्नु परेको बताएकी थिइन् । अदालत परिसरमा केही बेरको प्रदर्शनपछि यादवलाई उनका कानुन व्यवसायीले सम्झाउँदै बाहिर लगेका थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  ०६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update