Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सरकारले रासायनिक मलको अनुदान घटायो, बढ्ने भयो मुल्य

काठमाडौँ । किसानले किन्ने रासायनिक मलको भाउ बढ्ने भएको छ । सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११.८ प्रतिशतले घटाएपछि मुल्य बढ्ने भएको हो । मल खरिदमा अरबौं रकम खर्च भएपनि सोही अनुपातमा परिमाण बढाउन नसकेको भन्दै सरकारले समग्र अनुदान ११.८ प्रतिशतले अनुदान घटाएको छ । 

हाल रासायनिक मलमा सरकारले ८० प्रतिशतसम्म अनुदान दिँदै आएको छ । आयात बिन्दुमा युरिया प्रतिकिलो १४ रुपैयाँ, डीएपी ४३ रुपैयाँ र पोटास प्रतिकिलो ३१ रुपैयाँ बिक्री प्रयोजनको लागि तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यो रकम खरिद मूल्यको आधारमा युरियामा ८० प्रतिशत, डीएपीमा ५९.०४ र पोटासमा ५८.२ प्रतिशत अनुदान हो ।

मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको सोमबार बसेको बैठकले मध्यान्ह १२ बजेदेखि आयात हुने बिन्दुमा मूल्य बढाउने निर्णय गरेको हो । नयाँ मूल्य अनुसार किसानलाई युरिया प्रतिकिलो २५ रुपैयाँ, डिएपी ५० रुपैयाँ, पोटास ४० रुपैयाँ पर्नेछ । ‘यसअघि समग्रमा ७०.८२ प्रतिशत अनुदान रहेकोमा अब समग्रमा ५९.०४ प्रतिशत कायम भएको छ । जसअनुसार साबिकको तुलनाामा करिब ११.८ प्रतिशत मात्र अनुदान मूल्य समायोजन हुन्छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो दरलाई अर्थ मन्त्रालयको निर्देशनअनुसार त्रमशः ५० प्रतिशतसम्म कायम गरिनेछ ।’

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update