चरिकोट - पूर्व जनप्रतिनिधिहरुले स्थानीय सरकारहरुले रिजल्ट निकाल्नेगरी काम गर्न ढिला गर्न नहुने बताएका छन् । स्थानीय तहको निर्वाचन भएको ३ वर्ष पुरा भएको सन्दर्भमा बुधवार साझावोलीले गरेको कुराकानीका क्रममा तत्कालिन जिल्ला विकास समितिका जनप्रतिनिधिहरुले बाँकी अबधिको अधिकतम उपयोग गर्दै जनताको गुनासो सम्वोधन हुनेगरी काम गर्नुपर्नेमा जोड दिए । विकास एकैचौटी सम्भव नहुने भन्दै उनीहरुले जनताले पनि धैर्य गर्नुपर्ने बताए ।
नेकपा नेता समे रहेका जिल्ला विकास समिति दोलखाका पुर्व उप सभापति शिव प्रसाद भण्डारीले अभाव र अप्ठ्याराकाबीच स्थानीय सरकारले काम गरिरहेको भन्दै कमिकमजोरी सच्याएर अघि बढ्नुपर्ने आवश्यकता औल्याए ।
विगतमा जे जस्ता कारणले सोचेजस्ता काम हुन नसकेपनि बाँकी समयमा एक डेढ वर्षको मेकअप हुनेगरी र रिजल्ट आउनेगरी काम गर्नसक्नुपर्छ, उनले भने । स्रोतको खोजी गरेर आत्मानिर्भर हुँदै जनताको जिवनमा परिवर्तन आउनेगरी काम गर्नुपर्ने भण्डारीको भनाई छ ।
यसैगरी जिल्ला विकास समिति दोलखाका पुर्व सभापति रुद्र बहादुर खड्काले सिमित स्रोत साधनका बावजुत स्थानीय सरकारको ३ वर्ष केही हदसम्म सफल रहेको धारणा राखे । कांग्रेस दोलखाका साभपति समेत रहेका खड्काले तत्काल परिणाम खोज्ने मानसिकताका कारण असन्तुष्टि देखिएपनि स्थानीय जनप्रतिनिधिहरुको प्रयास राम्रो रहेको बताए ।
तातै खाँऔं, जली मरुं भन्ने हाम्रो समाजको समस्या छ, तर जनप्रतिनिधिहरुले धेरै काम गर्ने प्रयास गरिरहनुभएको छ, उनले भने ।
राजनीतिक हस्तक्षेपका कारण कतिपय स्थानीय तहले भने स्वतन्त्र ढंगले काम गर्न नसक्दा समस्या भएको खड्काको तर्क छ । बाँकी कार्यकाल जनतालाई खुसि पार्नेगरी परिणामुखि काम गर्न उनले स्थानीय सरकारहरुलाई आग्रह गरे ।