चरिकोट । दोलखा तामाकोशी गाउँपालिकाको स्थायी केन्द्र टुङ्गयाउन गोप्य मतदान हुने भएको छ । सोमवार आयोजित गाउँसभाले स्थायी केन्द्रको निर्णय गोप्य मतदानबाट गर्नुपर्ने प्रस्ताव पारित गरेको हो । सभामा गाउँपालिका अध्यक्ष प्रोण प्रताप केसीले स्थायी केन्द्र गोप्य मतदान प्रक्रियाबाट टुंग्याउनु पर्छ भनि राखेको प्रस्तावको पक्षमा १७ जना सदस्य देखिए भने विपक्षमा १५ जना र ३ जना सदस्यहरु तटस्थ बसेका छन् ।
त्यसअघि खुल्ला रुपमा मत जाहेर गरेर गाउँपालिकाको केन्द्रबारे निर्णय गर्ने प्रस्ताव सभाबाट अस्वीकृत भएको थियो । स्थानीय सरकारको दोस्रो कार्यकालको पहिलो वर्ष बित्नै लाग्दा तामाकोसी गाउँपालिकाले गाउँपालिकाको स्थायी केन्द्र टुंग्याउने एजेण्डा गाउँसभामा पेश गरेको हो । तामाकोशी गाउँपालिकाको केन्द्रका लागि जफेको छौँडे, वडा नम्बर ४ मालुको वडा कार्यालय आसपास र जफेको मानेडाँडा प्रस्ताव गरिएका छन् ।
तीन स्थानबारे जनप्रतिनिधिहरु बिभाजित हुँदा स्थायी केन्द्र टुंगो लाग्न सकेको छैन । गोप्य मतदान प्रक्रियाबाट प्रस्तावित कुनै १ स्थानलाई स्थायी केन्द्र बनाउन दुई तिहाईले निर्णय पारित गर्नुपर्ने व्यवस्था छ ।