चरिकोट । दोलखा सदरमुकाम चरिकोटमा १० दिनदेखि जारी महोत्सव आईतवार सम्पन्न भएको छ । गत फागुन १९ गतेदेखि सुरु भएको महोत्सवको आईतवार एक कार्यक्रमकाबीच बागमती प्रदेशका सभामुख भुवन पाठकले समापन गरे । आयोजकका अनुसार महोत्सवमा चार करोड रुपैयाँ बराबरको आर्थिक कारोवार भएको छ ।
महोत्सवको ३५ हजार बढीले अवलोकन गरेको र त्यसबाट ४ करोड बरावरको कारोवार भएको आयोजक चम्बर अफ कमर्श दोलखाले जनाएको छ । महोत्सव समापन समारोहमा यसबीचमा आयोजित बिभिन्न प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार तथा कदरपत्र प्रदान गरियो ।
महोत्सवमा कृषि तथा घरेलु हस्तकला प्रदर्शनी, औद्योगिक तथा व्यापारिक प्रदर्शनी, जातीय सांस्कृतिक झलकहरु, बाल उद्यान, झाँकी तथा र्याली, लोकनृत्य प्रतियोगिता, खाना महोत्सव, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, शैक्षिक सामग्री तथा विज्ञान प्रदर्शनी सम्बन्धी बिभिन्न १ सय ३० वटा स्टल राखिएका थिए ।
महोत्सवमा राष्टिय स्तरका ख्याती प्राप्त कलाकारहरुको सांगितिक प्रस्तुतीमा जिल्लाबासी झुम्मिएका थिए । जिल्लामा लामो समयको अन्तरालपछि महोत्सवको आयोजना गरिएको हो ।