Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
उपराष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्यको उम्मेदवारी

काठमाडौँ । उपराष्ट्रपति पदका लागि नेकपा एमालेको तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता भएको छ । शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर शाक्यले उम्मेदवारी दर्ता गरेकी हुन् । उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेकी शाक्य वाग्मती प्रदेशकी पूर्वमुख्यमन्त्रीसमेत हुन् ।

शनिबार बिहान बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सत्ता गठबन्धनबाट भने जनमत पार्टीले ममता झा र जसपाले रामसहायप्रसाद यादव र प्रमिला यादवलाई उम्मेदवार बनाउने बताएका छन् । निर्वाचन आयोगले शनिबारका लागि उपराष्ट्रपतिको मनोनयन पत्र दर्ता गर्ने समय तोकेको छ ।

शनिबार बिहान ९ बजेदेखि २ बजेसम्मलाई मनोनयन दर्ताको समय तोकिएको छ । आइतबार उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । त्यस्तै चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुनेछ ।

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update