Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
स्थानीय तहमा सरकारी सवारी साधन दुरुपयोग बढ्दै, लाईसेन्स बिनै चलाईन्छ वाईक

चरिकोट – नियमतः चालक अनुमति पत्र (लाईसेन्स) बिना सवारी साधन चलाउन पाईँदैन । र्लाइसेन्स बिनै मोटरसाईकल लगायतका सवारी साधन चलाउनेहरु कारबाही र जरिवानाको भागिदार हुने गरेका छन् । लाईसेन्स बिना सवारी चलाउँदा सर्बसाधरण नागरिकले ट्राफिक प्रहरीलाई हज्जारौं जरिवानाको चिट काट्नुपर्छ ।

तर दोलखाका स्थानीय जनप्रतिनिधिहरुलाई भने लाईसेन्स बिनै सवारी चलाउन कुनै बाधा छैन । उनीहरुले गाउँमा निर्वाध रुपमा सवारी चलाउन छुट पाएका छन् । बिना लाईसेन्स सवारी चलाउँदा दुर्घट्ना बढेको सरोकारवालाहरुले बताईरहँदा जनप्रतिनिधिहरुले नै नियम पालना नगरेका हुन् । दोलखाका स्थानीय तहहरुले केही वर्षअगाडी लाईसेन्स नभएका वडा अध्यक्षहरुलाई पनि मोटरसाईकल सुविधा दिने निर्णय गरेका थिए । सवारी सुविधा लिएको लामो समय भैसक्दापनि उनीहरुले सवारी चालक अनुमति पत्र लिएको पाईएको छैन ।

जिल्लाका दर्जनौं वडामा लाईसेन्स बिनै मोटरसाईकल प्रयोग गर्ने गरिएको छ । कतिपयले लाईलेन्स प्राप्त कर्मचारी र सहयोगी राखेर बाईक चलाउने गरेको दावी गरेका छन् । तर स्थानीयका अनुसार धेरैले लाईसेन्स बिनै मोटरसाईकल चलाउने गर्छन् ।

तामाकोसी गाउँपालिकाले गाउँपालिका कार्यालय आसपासका दुई वडा बाहेक ५ वडा कार्यालयहरुलाई मोटरसाईकल खरिद गरिदिएको थियो । गाउँपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष होम बहादुर श्रेष्ठले वाईक दुरुपयोगको समस्या नभएपनि केहीमा लाईसेन्सको समस्या भने रहेको स्वीकार गरे ।
‘केही साथीहरु लाईसेन्स लिने प्रोसेसमा हुनुहुन्छ, गाउँको छोटो यात्रामा लाईसेन्स बिनै चलाउनुपर्ने बाध्यता पनि छ, लामो यात्रा गर्दा भने लाईसेन्स प्राप्त व्यक्तिको सहयोग लिने गरिएको छ, श्रेष्ठले भने ।’

विगु गाउँपालिकाका ८ जना वडा अध्यक्षहरु मध्ये ३ जनाको मात्रै लाईसेन्स छ । अरु वडामा कर्मचारीहरुले वाईक चलाउने गरेपनि कतिपयले लाईसेन्स लिएका छैनन् । जिल्लाका स्थानीय तहले आन्तरिक श्रोतबाट खरिद गरेको भनिएका केही सवारी साधन छोटै अवधिमा बिग्रिएर थन्किएका छन् भने केही मर्मतसम्भार गरेर प्रयोगमा ल्याउने गरिएको छ ।

कालिञ्चोक गाउँपालिकामा ९ वडा मध्ये दुई जना अध्यक्षहरुको मात्रै लाईसेन्स छ । जसमध्ये वडा नम्बर १ र ९ को बाईक गाउँपालिकालाई जिम्मा दिईएको छ । अन्य वाईक लाईसेन्स विना गुडिरहेको गाउँपालिका स्रोतले साझावोलीलाई जानकारी दिएको छ ।

ट्राफिक प्रहरी बेखवर

वडा जनप्रतिनिधि र कर्मचारीहरुले लाईसेन्स बिनै सवारी साधन चलाईरहँदा ट्राफिक प्रहरी भने त्यसबारे बेखवर जस्तै छ । ट्राफिक प्रहरीको निगरानी सदरमुकाम र आसपासका क्षेत्रमा मात्रै केन्द्रित हुँदा गाउँमा नियम उल्लंघनका घट्ना बढ्न थालेको हो । ग्रामिण क्षेत्रमा ट्राफिक प्रहरीले नियम उल्लंघन गरेको बारे निगरानी गर्न सकेको छैन । प्रहरीका अनुसार जनशक्ति अभावका कारण ग्रामिण क्षेत्रमा निगरानी बढाउन नसकिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका ईन्चार्ज गोकर्ण नेपालले जिल्लाका मुख्य बजार क्षेत्रमा ट्राफिक नियम उल्लंघन गर्ने कसैलाई नछाडिएको बताए । गाउँमा त्यस्तो समस्या रहेको पाईए लकडाउनपछि छुट्टै योजना बनाएर जाने उनले बताए ।

सरकारी सवारी साधन दुरुपयोग
सेवाग्राहीको सेवा र दैनिक कार्यसम्पादन सहजताका लागि खरिद गरिएको सवारी साधन नीजि प्रयोजनका लागि दुरुपयोग बढेको गुनासो समेत बढेको छ । सरकारी मोटरसाईकल स्थानीय जनप्रतिनिधि र कर्मचारीले आफ्नो नीजि काममा बढि प्रयोग गर्ने गरेको सर्बसाधरणको गुनासो छ । ‘सरकारी वाईकमा आफन्त बोक्ने, निजी सामान ओसारपसार गर्ने, अनावश्यक यात्रा गर्ने जस्ता समस्या छ, कसले कारबाही गर्ने ? कालिञ्चोक गाउँपालिका ४ का एक स्थानीयले नाम नखुलाउने शर्तमा भने ।’

वडा कार्यालयहरुलाई वाईकसहित ईन्धनको पनि सुविधा दिईएको छ । गाउँपालिकाले एउटा मोटरर्साकल वरावर मासिक ५ हजार रुपैयाँका दरले ईन्धन बितरण गर्ने गरेको छ ।

कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज ओलीले सरकारी सवारी साधन दुरुपयोग सबैतिरको समस्या रहेको भन्दै कालिञ्चोकमा पनि त्यो गुनासो आएकाले सुधारको पहल थालिएको बताए । ईन्धन कुपन सिस्टममा बितरण सुरु गरेपछि दुरुपयोग न्युनीकरण हुँदै गएको छ, उनले भने, लाईसेन्सबारे पनि छानविन भैरहेको छ, नभएको भेटिए वाईक गाउँपालिका ल्याईन्छ ।’

 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update