चरिकोट । दोलखा महोत्सव सदरमुकाम चरिकोटमा शुक्रबारबाट सुरु भएको छ । चेम्बर्स अफ कमर्स दोलखाको आयोजनामा सुरु भएको महोत्सवको उपप्रधान एवं भौतिक पुर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले एक समारोहकाबीच उद्घाटन गरे । पछिल्लो समय सुस्ताएको आर्थिक गतिविधि चलायमान बनाउन र पर्यटकीय क्षेत्र तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्न महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार महोत्सव अवधिमा कृषि तथा घरेलु हस्तकला प्रदर्शनी, औद्योगिक तथा व्यापारिक प्रदर्शनी, जातीय सांस्कृतिक झलकहरु, बाल उद्यान, झाँकी तथा र्याली, लोकनृत्य प्रतियोगिता, खाना महोत्सव, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, शैक्षिक सामग्री तथा विज्ञान प्रदर्शनी साथै पर्यटकीय क्षेत्रको प्रचारप्रसारलगायत कार्यक्रम हुनेछ । फागुन २७ गतेसम्म संचालन हुने महोत्सवमा बिभिन्न १ सय ३० वटा स्टल राखिएका छन् । नेपाल चेम्बर अफ कमर्स दोलखाका अध्यक्ष विष्णु श्रेष्ठले महोत्सवले जिल्लामा आन्तिरक पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने बताए ।
महोत्सवबाट जिल्लाको ऐतिहासिक र धार्मिक महत्वका स्थानको समेत प्रचारप्रसार प्रवद्र्धनका कार्यक्रम संचालन जनाईएको छ । फागुन २७ गतेसम्म चल्ने महोत्सवमा एक करोड खर्च हुने अनुमान छ । रोबर्ट प्रदर्शनी महोत्सवको आकर्षण मानिएको छ । महोत्सव सुरु हुनुपुर्व बिभिन्न जातजातिका झाँकि, पन्चेवाजा सहितको र्यालीले सदरमुकाम चरिकोट बजार परिक्रमा गरी टुडिखेल प्रवेश गरेको थियो ।