चरिकोट । राष्ट्रपति विद्यादेवी भण्डारी दोलखा आईपुगेकी छन् । प्रसिद्ध दोलखा भीमेश्वरको दर्शनका लागि राष्ट्रपति भण्डारी दोलखा आएकी हुन् । राष्ट्रपति बिहिवार विहान सैनिक हेलिकोप्टर मार्फत सदरमुकाम चरिकोटस्थित नेपाली सेनाको तारादल गणमा उत्रिनेपछि भीमेश्वर मन्दिर पुगेकी हुन् ।
उनले राष्ट्र प्रमुखको हैसियतले भीमेस्वर मन्दिरमा करिब आधा घण्टा रुद्री पूजा र संकल्प गर्ने कार्यक्रम छ । आफ्नो कार्यकाल सकिनै लाग्दा राष्ट्रपति भण्डारी दोलखा आएकी हुन् । यही फागुन २५ गते नयाँ राष्ट्रपतिका चयनका लागि निर्वाचन हुँदैछ ।
मुलुक गणतन्त्रमा प्रबेश राष्टप्रमुखका हैसियतले दोस्रो पटक भीमेश्वर मन्दिरको दर्शन गरिएको हो । प्रथम राष्ट्रपति डा. रामवरण यादवले पनि २०६७ सालमा भीमेश्वरको दर्शन गरेका थिए । त्यसअघि भीमेश्वरको शिलामा पसिना आउँदा राजपरिवारबाट भीमेश्वरको दर्शन हुने गरेको थियो ।
राष्ट्रपति भण्डारी भीमेश्वरको दर्शनपछि सदरमुकाममा ग्रामिण विकास टुकी संघले आयोजना गर्ने टुकी प्रदर्शनी कार्यक्रममा सहभागी हुने टुकी किसानसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ । टुकी संघले विगत ४५ बर्षमा टुकी अवधारणा अनुरुप सञ्चालन गरेका गतिविधिवाट ग्रामीण जनजीवनको परिवर्तनमा पुगेको योगदानका बारेमा प्रदर्शनी हुने बताईएको छ । राष्ट्रपतिको दोलखा भ्रमणलाई मध्येनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।