काठमाण्डौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले उपचार गराउनुपर्ने अस्पताल तोकेको छ । कोषले तोकेको अस्पतालमा उपचार गराउँदा मात्रै योगदानकर्ताको खर्च बेहोर्ने जनाएको छ ।
यसअघि योगदानकर्ताले जुनसुकै अस्पतालमा उपचार गराउँदाको खर्च पनि कोषले उपलब्ध गराउँदै आएको थियो। तोकिएका अस्पताल आसपासका योगदानकर्ताहरूले सम्बन्धित अस्पतालमा उपचार गराए मात्रै उपचार खर्च पाउने कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए ।
उनका अनुसार यो व्यवस्था फागुन १ गतेबाट लागू भैसकेको छ । अस्पताल नतोकिएका स्थानका योगदानकर्ताले भने जुनसुकै अस्पतालमा पनि उपचार गराउन सक्नेछन् । बागमती प्रदेशमा योगदानकर्ताको उपचारका लागि विभिन्न १३ अस्पताल छनौट गरिएको छ ।
वीर अस्प्ताल, त्रिवि शिक्षण, पाटन स्वास्थ्य विज्ञान, हेल्पिङ ह्यान्ड्स, काठमाडौं मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स, मनमोहन मेमोरियल मेडिकल कलेज, मकवानपुर सहकारी अस्पतालमा उपचार गराउँदाको खर्च कोषले बेहोर्छ। चुरेहिल हस्पिटल, नेपाल अर्थोपेडिक, दृष्टि आइकेयर, शिर मेमोरियल र शंकरापुर अस्पताल पनि तोकिएको छ।