Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
राष्ट्रपति भण्डारी दोलखा आउँदै, भीमेश्वरको दर्शन र टुकी किसानसँग अन्तरक्रिया गर्ने

चरिकोट । राष्ट्रपति बिद्यादेवी भण्डारी भीमेश्वर दर्शनका लागि आज दोलखा आउँदै छिन् । प्रसिद्ध दोलखा भीमेस्वर मन्दिर दर्शनका लागि राष्ट्रपति भण्डारी दोलखा आउन लागेकी हुन् । राष्ट्रपति बिहिवार विहान ११ बजे सैनिक हेलिकोप्टर मार्फत सदरमुकाम चरिकोटस्थित नेपाली सेनाको तारादल गणमा उत्रिने कार्यक्रम छ ।

त्यसपछि राष्ट्रपति भण्डारी ऐतिहाँसिक एवं पौराणिक महत्व बोकेको प्रसिद्ध दोलखा भीमेस्वर मन्दिर दर्शनकालागि प्रस्थान गर्नेछिन् । आफ्नो कार्यकाल सकिनै लाग्दा राष्ट्रपति भण्डारी दोलखा भ्रमणमा आउन लागेकी हुन् । यही फागुन २५ गते नयाँ राष्ट्रपतिका चयनका लागि निर्वाचन हुँदैछ । 

भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिका अनुसार राष्ट्रपति भण्डारीले राष्ट्र प्रमुखको हैसियतले भीमेस्वर मन्दिरमा रुद्री पूजा र संकल्प गर्ने कार्यक्रम छ । राष्ट्रपतिको आगमनमा मन्दिर परिसरमा मंगल धुन, सगुन बाजागाजा र पञ्चकन्यासहित स्वागत गर्ने तयारी छ । 

मुलुक गणतन्त्रमा प्रबेश राष्टप्रमुखका हैसियतले दोस्रो पटक भीमेश्वर मन्दिरको दर्शन हुन लागेको हो । प्रथम राष्ट्रपति डा. रामवरण यादवले पनि २०६७ सालमा भीमेश्वरको दर्शन गरेका थिए । त्यसअघि भीमेश्वरको शिलामा पसिना आउँदा राजपरिवारबाट भीमेश्वरको दर्शन हुने गरेको थियो । 

राष्ट्रपति भण्डारी भीमेश्वरको दर्शनपछि सदरमुकाममा ग्रामिण विकास टुकी संघले आयोजना गर्ने टुकी प्रदर्शनी कार्यक्रममा सहभागी हुने टुकी किसानसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ । टुकी संघले विगत ४५ बर्षमा टुकी अवधारणा अनुरुप सञ्चालन गरेका गतिविधिवाट ग्रामीण जनजीवनको परिवर्तनमा पुगेको योगदानका बारेमा प्रदर्शनी हुने बताईएको छ । राष्ट्रपतिको दोलखा भ्रमणलाई मध्येनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।  

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update