चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ सुन्द्रावतीका आगलागी पीडितहरुलाई सोमवार थप राहात सहयोग हस्तान्तरण गरिएको छ । नेपाल थामी समाज दोलखा मार्फत पीडित परिवारलाई १ लाख २९ हजार ४ सय ९५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
युवाहरुको सक्रियतामा बिभिन्न व्यक्तिहरुबाट जुटेको सहयोग रकम पीडितहरुलाई हस्तान्तरण गरिएको थामी समाज दोलखाका अध्यक्ष होम थामीले जानकारी दिए । सहयोग रकम आगलागीबाट क्षती भएको आधारमा बर्गीकरण गरी १५ पीडित परिवारलाई बितरण गरिएको छ । बिवरण अनुसार उक्त सहयोग जुटाउन खड्ग थामी, प्रकाश थामी, सुमन थामी लगायतका युवाहरु सक्रिय भएर लागेका थिए ।
गत माघ १८ गते राती भएको आगलागीबाट सुन्द्रावती कटुवाचौरका सन्तोष सेढाई, दुर्गा दहाल, चित्र प्रसाद सेढाई, स्वस्तानी खड्का, शंकर ओली, पुस्कर ओली, रुद्र बहादुर ओली, गोपिलाल थामी, राम बहादुर थामीको घर जलेर पुर्ण रुपमा नष्ट भएको थियो । आगलागीबाट धनमाल र पशुचौपाया गरी करोडौंको क्षति भएको थियो ।