काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकिदिएका छन् । मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन मन्त्री पौडेल आइतबार साँझ जेनेभा जाने कार्यक्रम थियो । तर भ्रमणमा जानुअघि प्रधानमन्त्री दाहालले भ्रमण रोकेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
प्रेस विज्ञ यशोदा अधिकारीका अनुसार प्रधानमन्त्री दाहालले फोन गरेर परराष्ट्रमन्त्री पौड्याललाई भ्रमणमा नजानु भनेका छन् । आठ दलको नयाँ गठबन्धन बनेपछि एमालेबाट मन्त्री बनेकी पौड्याललाई प्रधानमन्त्री दाहालले भ्रमणमा रोक लगाएका हुन् ।
परराष्ट्रमन्त्री पौड्याल नेपाली टोलीको नेतृत्व गर्दै जान लागेकी थिइन् । उक्त नियमित सत्र फागुन १५ देखि चैत १३ सम्म चल्नेछ । नेपाल अहिले मानवअधिकार सुरक्षा परिषद्को सदस्य पनि हो ।
मन्त्री पौड्यालले आइतबार दिउँसोमात्रै पत्रकार सम्मेलन गरेर परिषद्को ५२ औं सत्रमा नेपालले हालसम्म गरेको उपलब्धिहरु र भएका कामहरुको बारेमा परिषद्को सत्रमा राख्ने र विश्वलाई नै जानकारी दिने बताएकी थिइन् । उनले मन्त्रिपरिषद्कै निर्णयमा आफू जान लागेको र नजान भने त्यसपछि अर्को निर्णय गर्ने बताएकी थिइन् । मन्त्री पौड्याल नगएपछि अब मन्त्रालयबाट परराष्ट्रकै अधिकारीहरुले नेतृत्व गरेर जेनेभा जाने छन् ।