Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा वर्षा र हिमपात, किसान र होटल व्यवसायीलाई राहात

चरिकोट । दोलखाका उच्च हिमाली क्षेत्रमा आईतवार हिमपात भएको छ । यो वर्ष ढिलोगरी जिल्लाको कालिञ्चोक, शैलुङ, खरिढुङ्गा लगायतका उच्च पहाडी क्षेत्रमा पहिलो हिमपात भएको हो । हिमपात र वर्षा भएपछि किसानलाई राहत मिलेको छ भने व्यवसायी पनि खुसी भएका छन् ।

यो वर्ष निराश भएका व्यवसायीहरुले हिमपातसँगै आन्तरिक पर्यटकको चहलपहल हुने अपेक्षा  गरेका छन् । यो सुख्खायाममा ढिलो समयसम्म हिमपात नहुँदा कालिञ्चोक, सदरमुकाम चरिकोट लगायत बजार क्षेत्रका होटल व्यवसाय सुनसान थिए । विगत वर्षमा पुष महिनाको सुरुवातदेखिनै कालिञ्चोक लगायतका उच्च हिमाली क्षेत्रमा हिउँ खेल्न आउने आन्तरिक पर्यटकको चहलपहल बाक्लो हुने गरेको थियो । 

ढिलोगरी हिमपात भएपनि व्यवसायीलाई केही राहत मिल्नेमा व्यवसायी आषावादी बनेका छन् । हिमपातसँगै जिल्लामा वर्षा पनि भएको छ । उच्च हिमाली भेगमा हिमपात भएसँगै आलु रोपेका किसान खुसी भएका छन् । हिमपात नहुँदा हिमाली क्षेत्रका आलु किसान निराश भएका थिए । हिमपातसँगै उनीहरु आलुमा सिँचाई पुग्ने भन्दै खुसी भएका हुन् ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update