Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
‘अछुत आमाले जन्माउँदिनन्, समाजले जन्माएको हो’

काठमाडौँ । दोलखाबाट प्रतिनिधित्व गर्ने नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले समाजमा व्याप्त छुवाछुत र विभेदबारे सरकारको ध्यानाकर्षण गराएका छन् । एमाले पोलिट व्युरो सदस्य समेत रहेका सांसद रिजालले अछुत् जन्माउने सामाजिक सोच र छुवाछूत प्रथाको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

प्रतिनिधिसिभाको शुक्रबारको बैठकमा बोल्दै सांसद रिजालले यस्तो धारणा राखेका हुन् । उनले नेपालमा गर्भमै शासक जन्माउने प्रथा अन्त्य भए पनि गर्भबाटै अछुत भएर जन्मिने प्रथा भने अझैसम्म कायम रहेको भन्दै चिन्ता व्यक्त गरे । 

अछुत जन्माउने देश भन्दा कोही पनि नेपालीको शिर ठाडो नहुने उनको भनाई छ । ‘सगरमाथाको देश भनेर गर्वले शिर उचो हुन्छ । त्यस्तै गौतम बुद्धको देश भन्दा छाती फुल्छ । तर अझै पनि गर्भमै अछुत जन्माउने देश भन्दा कोही पनि नेपालीको शिर उचो हुन्छ जस्तो लाग्दैन,’ उनले भने ।

एउटी आमाले जन्माएकै कारण अछुत हुने र अर्की आमाको कोखबाट जन्मिएकै कारण छुत हुने प्रथाको अन्त्य कहिले गर्ने ? सांसद रिजालले सरकारसँग प्रश्न गरे ।

उनले भने, ‘एउटी आमाले कहिल्यै पनि अछुत जन्माउँदिनन् । अछुत त तपाईं र म बाँचिरहेको समाजले जन्माएको हो । त्यो उसको दोस्रो जन्म हो ।’ 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update