चरिकोट । दोलखा उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदका लागि बुधवार मनोनयन दर्ता भएको छ । जस अनुसार संघको अध्यक्ष पदमा व्यवसायी दिनेश बस्नेतले मनोनयन दर्ता गराएका छन् । संघले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार बस्नेतले बुधवार दिउँसो अध्यक्ष पदमा मनोनयन दर्ता गराएका हुन् ।
मनोनयन दर्तापछि व्यवसायी बस्नेतले दोलखाका व्यवसायीहरुको हकहित र दोलखा उद्योग बाणिज्य संघलाई सही नेतृत्व प्रदान गर्न आफुले अध्यक्ष पदमा उम्मेदवारी दिएको प्रतिक्रिया दिए । संघको नयाँ नेतृत्व चयनका लागि यही फागुन १३ गते निर्वाचन हुँदैछ ।
संघको २३ औं बार्षिक साधारणसभा र अधिवेशनका सन्दर्भमा नयाँ नेतृत्व समेत चयन गर्न लागिएको हो । अध्यक्ष पदमा उम्मेदवारी दिएका बस्नेत अघिल्लो कार्यकालमा सदस्य पदमा सर्बाधिक मत पाएर निर्वाचित भएका थिए । सफल व्यवसायी बस्नेतको अदिति कम्प्लेक्ससहित होटेल, मिनरल वाटर, सुपर मार्ट लगायतका व्यवसायका लगानी छ ।