काठमाडौँ । राष्ट्रपति निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरुले आन्तरिक तथा दुई पक्षिय सम्वाद तीब्र बनाएका छन् । जस अनुसार नेकपा एकीकृत समाजवादी (एस) ले आफ्नो पार्टीले अघि सार्नसक्ने राष्ट्रपतिका उम्मेदवारमा सहमति खोज्न दलहरुसँग छलफल सुरु गरेको छ ।
जस अनुसार एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितका शिर्ष नेताहरुले कांग्रेस सभापति शेर बहादुर देउवासँग भेटवार्ता गरेका छन् । निर्वाचनमा एमाले र कांग्रेस दुवैतिर शक्तिका लागि बार्गेनिङ गर्ने एकिकृत समाजवादीको रणनीति छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिमा सकेसम्म राष्ट्रिय सहमति बन्नुपर्ने, यदि त्यस्तो सहमति नभए सम्भावित समीकरणमा आफ्नो दल संसद्मा रहेका सबै राजनीतिक दलसँग संवादका लागि खुला रहने निर्णय गरेको थियो ।
सत्ताघटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट राष्ट्रपति नबन्ने अवस्थामा राष्ट्रिय सहमतिबाटै राष्ट्रपतिका लागि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको नाम अनौपचारिक रुपमा अघि सारेपछि नेकपा एसले सहमतिको प्रयास सुरु गरेको हो ।
ओलीले सोमबार मात्रै अध्यक्ष नेपाललाई भेटेर पार्टी एकता गर्ने शर्तसहित राष्ट्रपति बन्न प्रस्ताव गरेका थिए । स्रोतका अनुसार बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको प्रधानमन्त्री दाहालसँगको भेटमा समेत ओलीले भाबी राष्ट्रपतिका लागि नेपालको नाम प्रस्ताव गरेका छन् । लोसपाका नेताहरुले पनि अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन छलफल अघि बढाएका छन् ।