काठमाडौँ । सरकारले नेपाली उत्पादनलाई अनिवार्य नियम लागु गर्ने भएको छ । मन्त्रालय मातहतका निकाय तथा आयोगहरूले आयोजना गर्ने अतिथि सत्कार एवं चिया खाजामा अनिवार्य रुपमा नेपाली उत्पादन प्रयोग गर्न सरकारले निर्देशन दिएको हो । उद्योग मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा सरकार मातहतका निकाय तथा अन्य आयोगलाई अतिथि सत्कार एवं चिया खाजामा नेपाली उत्पादन प्रयोग गर्न भनिएको छ ।
बिज्ञप्तीमा सार्वजनिक निकायले आफ्नो उपयोगको लागि स्टेसनरी, फर्निचर–फिक्चर्स, मेसिनरी औजारजस्ता मालसामान खरिद गर्दा उपलब्ध भएसम्म सबै नेपाली उत्पादन नै खरिद गर्नुपर्ने र उपलब्ध नभएमा न्यूनतम ५० प्रतिशत स्वदेशी मालसामान खरिद गर्नुपर्ने उल्लेख छ । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १७ बमोजिम कुनै विधि छनोट गरी खरिद गर्दा विदेशी मालसामानभन्दा नेपालमा उत्पादित मालसामान १५ प्रतिशत महँगो भए तापनि नेपाली मालसामान नै खरिद गर्नुपर्ने व्यवस्था रहेको भन्दै सोही बमोजिम खरिद गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
स्वदेशी माल सामान वा वस्तुको उत्पति प्रमाणपत्रको विवरण नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र नेपाल चेम्बर अफ कमर्स तथा मतहतका निकायले आफ्नो वेवसाइटमा प्रकाशन गर्ने र सार्वजनिक निकायले सो विवरणलाई समेत आधार लिई स्पदेशी वस्तु खरिद गर्नुपर्ने छ । स्वदेशी मालसामान उत्पादन गर्ने उत्पादकले सार्वजनिक निकायमा आफ्नो उत्पादनलाई सूचीकृत गराउनु पर्ने मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले पुस २५ गते स्वेदशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन गर्न सरकारका मुख्य सचिव र सचिवहरुलाई निर्देशन दिएको थियो ।