Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
चालु आर्थिक वर्षको बजेट संशोधन, २ खर्ब ४४ अर्ब घटाईयो

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०७९/८० का लागि बजेटको आकार घटाएको छ । अर्थमन्त्री विष्णु पौडेलले संसद बैठकमा बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार २ खर्ब ४४ अर्ब रुपैयाँ अर्थात् १४ प्रतिशत घटाईएको जानकारी दिएका छन् ।

यसअघिका अर्थमन्त्री जनार्दन शर्माले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । त्यसमा अर्थमन्त्री पौडेलले १५ खर्ब ४९ अर्ब ९९ करोड हुने संशोधित अनुमान गरिएको बताए । 

बजेट खर्चमा चालुतर्फ ११ खर्ब ८३ अर्ब २३ करोड खर्च हुने सुरुको अनुमान रहेकोमा पौडेलले संशोधित अनुमान १० खर्ब २१ अर्ब ९२ करोड कायम गरेका छन् । सुरुको बजेटको तुलनामा यो रकम ८६.३ प्रतिशत हो । त्यस्तै पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड खर्च गर्ने सुरुको बजेट अनुमान रहेकोमा संशोधन गरी ३ खर्ब १३ अर्ब ८५ करोड हुने अनुमान गरिएको छ । वित्तीय व्यवस्थापनतर्फ सुरुमा २ खर्ब ३० अर्ब २१ करोड बजेट विनियोजन गरेकोमा संशोधनमार्फत २ खर्ब १४ अर्ब २१ करोड हुने अनुमान गरिएको छ ।

त्यस्तै राजस्वतर्फ कुल संकलन लक्ष्य सुरु बजेटमा १४ खर्ब ३ अर्ब १४ करोड लक्ष्य लिइएकोमा संशोधन गरी १२ खर्ब ४४ अर्ब ७५ करोड कायम गरिएको छ । वैदेशिक अनुदानबाट ५५ अर्ब ४५ करोड रुपैयाँ लिने लक्ष्य रहेकोमा ३८ अर्ब ४५ करोड लिने संशोधित अनुमान छ ।

वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड जुटाउने लक्ष्य रहेकोमा १ खर्ब ७० अर्ब ५३ करोड मात्रै जुटाउने संशोधित अनुमान छ । आन्तरिक ऋणबाट २ खर्ब ५६ अर्ब जुटाउने सुरुको लक्ष्य रहेकोमा संशोधन गरी २ खर्ब ४० अर्ब मात्रै परिचालन गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update