काठमाडौं । सत्ता साझेदार दलहरुबीच सहकार्यलाई अझ मजबुत ढंगले अघि बढाउने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आईतबार बसेको बैठकमा आगामी दिनमा पनि सत्ता सहकार्यलाई अझ मजबुत ढंगले अघि बढाउने समझदारी भएको हो । सहकार्य बलियो बनाउन छलफललाई निरन्तरता दिन सत्ता साझेदार दलका नेताहरु सहमत देखिएका छन् ।
नेताहरुका अनुसार बैठकमा अहिलेसम्म सरकारले गरेका कामकारबाहीको बारेमा पति समीक्षा भएको छ । ‘आगामी दिनमा अझ मजबुत ढंगले यो सहकार्यलाई अगाडि बढाएर लैजाने र त्यसका लागि भेटघाटलाई निरन्तरता दिने सहमति भएको छ, बैठकपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भने ।’
बैठकमा रास्वपालाई पुनः सरकारमा ल्याउनेबारे पनि छलफल भएको थियो । ‘उपयुक्त समयमा रास्वपा सरकार आउने सम्भावना रहेको अध्यक्ष लिङ्देनको भनाई छ । बैठकमा रास्वपाका अध्यक्ष रवि लामिछानेले चितवनमा तत्काल उपनिर्वाचन गराउनुपर्ने माग राखेका थिए ।
राष्ट्रपतिको उम्मेदवारबारे भने आजको बैठकमा छलफल नभएको जनाईएको छ । अध्यक्ष लिङ्देनले भने, बाहिर आएका कुराहरु भ्रमपूर्ण छन्,’ ‘हामीले यो सरकार निर्माणको क्रममा जुन सहमति कायम गरेका थियौं, त्यो सहमतिमा अहिले सत्ता साझेदार दलहरुबीच कुनै विमती छैन ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए ।