Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
वाग्मतीका १३ वटै जिल्लामा एकिकृत सेवा कार्यालय संचालन गर्ने तयारी

हेटौंडा । वाग्मती प्रदेश सरकारका १३ वटै जिल्लाहरुमा सेवा कार्यालय संचालन गर्ने तयारी गरिएको छ । प्रदेशका १३ वटै जिल्लामा सेवा कार्यालय खोल्ने विषय यसअघि पनि सरकारको प्राथमिकतामा परेको थियो । यस पटक भने सरकारले सबै जिल्लामा एकीकृत सेवा कार्यालय संचालनमा ल्याउने गरी तयारी अघि बढाएको छ ।

त्यसका लागि अध्ययन कार्यदल गठन गरेर काम थालिएको हो । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठका अनुसार प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशका १३ वटा जिल्लामा एकीकृत सेवा संचालनको लागि अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठित समितिले अध्ययन गरेर मन्त्रिपरिषद्मा प्रतिवेदन बुझाएपछि सरकारले १३ वटै जिल्लामा आफ्ना कार्यालय स्थापना गरी सेवा प्रवाह गर्ने बताईएको छ । कार्यादलले प्रशासनिक खर्च, सेवा प्रवाहलगायत विषयलाई केन्द्रमा राखेर अध्ययन गर्ने र आवश्यकताका आधारमा सम्बन्धीत मन्त्रालयको मातहतमा रहने गरी कार्यालय खोल्ने सुझावसहित प्रतिवेदन पेस गर्नेछ ।

प्रदेश सरकार मातहतको प्रशासनिक संगठनहरू जिल्ला जिल्लामा नहुँदा योजनाहरू कार्यान्वयनमा जटिलता आउनुका साथै सेवाग्राहीले सास्ती खेप्दै आएका छन् ।

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update