सोलुखुम्बु । ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन थालेको छ । व्यापारिक उत्पादन सुुरु भएपछि उक्त आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । अघिल्लो सातादेखि परीक्षण उत्पादन सुरु गरेको आयोजनाको सबै उपकरण परीक्षण सफल भएपछि विद्युत् प्राधिकरणको राष्ट्रिय प्रणालीमा जोडिएको साहस ऊर्जा लिमिटेडका अध्यक्ष हिम पाठकले जानकारी दिए ।
आयोजनाको प्रवद्र्धक साहस ऊर्जा कम्पनी लिमिटेड हो । सोलुदूधकण्ड नगरपालिका–११ स्थित सोलुखोलाको पानी ४ हजार ६ सय ७९ मिटर लामो सुरुङमार्ग र १९ सय ३८ मिटर लम्बाइको पाइप लाइनमार्फत थुलुङदूधकोसी ३ मैकुबेसीमा खसालेर ८६ मेगावाट बिजुली उत्पादन गरिएको छ ।
नदी प्रवाह (आरओआर) मा आधारित उक्त आयोजना लाम्माने सबस्टेसनमा रहेको १३२ केभीए सोलुकरिडोरमा जोडिएको हो । साहस ऊर्जाको विद्युत् गृहदेखि लाम्मानेसम्म १३ किमि ग्रिड निर्माण गरी आयोजनाले १३२ केभी प्रसारण लाइनमा जोडेको हो । उक्त आयोजनाको ग्रस हेड ६ सय १३ मिटर छ । २५ प्रतिशत संस्थापक तथा सेयरधनी र ७५ प्रतिशत बैंकको लगानीमा करिब १३ अर्ब लागतमा आयोजना निर्माण भएको हो ।