Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
वर्षा र हिमपात नहुँदा दोलखाको कृषिवालीसँगै पर्यटन क्षेत्र प्रभावित

चरिकोट । माघ महिनापनि बित्न लागिसक्यो तर दोलखामा अहिलेसम्म हिमपात र वर्षा हुने छाँटकाँट देखिएको छैन । हिउँद याममा प्रायः सँधै हिमपातपछि सेताम्मे र रमणीय देखिने डाँडापाखाहरु उजाड देखिन्छन् । ७१३४ मिटर उचाईमा रहेको गौरीशंकर हिमालमा समेत हिँउको मात्र पातलिएको देखिन्छ । कतिपय हिमालहरु काला पत्थरमा परिणत भएका छन् । 

विगत वर्षहरुमा मङ्सिर अन्तिम या पुषको पहिलो सातादेखिनै हिमपात सुरु हुन्थ्यो । कालिञ्चोक, खरिढुंगा, शैलुङ, च्योर्दुङ, हनुमन्ते लगायतका उच्च हिमाली क्षेत्रका डाँडाहरुका दृष्य निकै मनमोहक देखिन्थे । जिल्लामा पर्यटकहरुको आवागमन तीब्र हुने गथ्र्यो । होटल व्यवसायीहरुलाई पर्यटकहरुलाई स्वागत गर्न भ्याई नभ्याई हुन्थ्यो ।

ब्यापार व्यवसाय बढ्दा व्यवसायीहरुमा छुट्टै उत्साह देखिन्थ्यो । वोलेरो लगायतका सवारी साधनहरु पर्यटक ओसार्न व्यस्त हुन्थे । उनीहरुले पनि मनग्गे आम्दानी गर्दथे । सामाजिक संजालका भित्ताहरु हिँउ खेलिएका फोटा र भिडियोहरुले सजिन्थे । 

तर यो वर्ष हिमपात र वर्षा हुने आषा र प्रतिक्षा पुरा नभएपछि जिल्लाबासी निराश छन् । कमसेकम एक सिजनको व्यापार समेत चौपट भएपछि व्यवसायीहरु चिन्तित छन् । 

दोलखा जिल्लासँग सिमाना जोडिएको मुढे बजारका व्यवसायीहरु यो वर्ष व्यवसाय ह्वात्तै घट्दा अचम्मित बनेका छन् । दोलखा सदरमुकाम चरिकोटका होटलहरु सुनसानप्रायः छन् । हिमपात नहुँदा कालिञ्चोकको कुरीको होटल व्यवसायपनि चौपट रहेको व्यवसायीहरु बताउँछन् ।   

पशुपालन र कृषि वालीमा पनि नोक्सान
सुक्खा मौसम भएपछि घाँसपात नउम्रने भएकाले चौँरी लगायत पशुपालक किसानहरुलाई पनि कम्ति परलो छैन । ‘हिमाल त सुक्खा देखिन थाल्यो । उच्च पहाडी क्षेत्रका चौँरीगाईहरुले पानी समेत खान नपाउने अबस्था आयो, चौरीपालक कृषक मनराज थामी बताउँछन् ।’

हिमपात र वर्षा नहुँदा हिउँदे बाली नाली सुक्दै जाँदा किसानहरु अझ चिन्तित छन् ।, ‘खरेडीबाट हिउँदे बाली जोगाउन मुस्किल भएको छ, मनमायाँ तामाङ भन्छिन् ।’ गहुँ, जौँ, आलु, तोरी, केराउ र हरियो तरकारी लगायत बालीहरु खेतवारीमै सुक्ने चिन्ता छ किसानहरुलाई । हिमपात र वर्षा नभएपछि कृषि उत्पादनमा क्षति हुने सरोकारवालाहरुको चिन्ता छ । 
 

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update