Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
बाँदर नियन्त्रण गर्न रुख काट्ने कालिञ्चोक गाउँपालिकाको निर्णय कार्यान्वयनमा रोक 

काठमाण्डौं । बाँदर नियन्त्रणका लागि भन्दै दोलखाको कालिञ्चोक गाउँपालिकाले गरेको रुख कटान गर्ने निर्णय कार्यान्वयनमा अदालतले रोक लगाएको छ । उच्च अदालत पाटनले अल्पकालिन अन्तरिम आदेश जारी गर्दै तत्कालका लागि निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

बाँदर नियन्त्रण गर्न भन्दै कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ ले फलफुल तथा डालेघाँस बाहेक अन्य रुखहरु कटान गर्न सर्बसाधरणलाई निर्देशन दिँदै त्यसो नगरे वडा कार्यालयबाट पाउने सेवा सुविधाबाट बञ्चित गर्ने चेतावनी दिएको थियो । उक्त निर्णय बिरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै उच्च अदालतले अन्तिम फैसला नभएसम्मका लागि निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न भनेको छ । 

रिट निवेदकको तर्फबाट उत्प्रेषण आदेश मार्फत निर्णय बदर गर्न माग गरिएकोमा उच्च अदालतकी न्यायधीश राज्यलक्ष्मी बज्राचार्यको एकल इजलासले यस्तो आदेश गरको हो । साथै अदालतको आदेशमा निवेदकहरुबाट अन्तरिम आदेश माग गरिएको सन्दर्भमा निष्कर्षमा पुग्न विपक्षी (वडा कार्यालय) लाई समेत आगामी फागुन ३ गते झिकाई छलफल गर्ने भनिएको छ । 

वडाको रुख कटान गर्ने निर्णय बिरुद्ध कानुन न्याय तथा सामाजिक कल्याण मञ्चको तर्फबाट अधिवक्ता नविन कार्की, अधिवक्ता सुजन कार्की, अधिवक्ता आलोक शिवाकोटी लगायतले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । 

कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ ले २०७९ साल पुष १३ गते उक्त निर्णय गरेपछि बिवादित बनेको हो । गाउँपालिकाले पनि बाँदर आतंक नियन्त्रणका लागि बाँदर पाल्ने निर्णय गरेको थियो । तर उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन । 

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update