Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
रास्वपालाई पुनः सरकारमा आउन आग्रह

काठमाडौं । सत्ता साझेदार दलहरु सम्मिलित उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा आउन आग्रह गरेको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संयन्त्रको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो ।

बैठकमा रास्वपालाई सरकारमा आउन आग्रह गरिएको तर राष्ट्रपतिको विषयमा छलफल नभएको नेताहरुले बताएका छन् । सरकारबाट बाहिरिएपनि समर्थन कायम राखेको रास्वपाले भने यसबारे केही प्रतिक्रिया दिएको छैन । बैठकमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए ।

जसपा, जनमत र नागरिक उन्मुक्तिका नेता भने बैठकमा उपस्थित भएनन् । दुई महिना नपुग्दै रास्वपा बाहिरिनु, राष्ट्रपतिमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको अडान लिनुजस्ता विषयमा गठबन्धनमा खटपट देखिएको छ ।

हिजोमात्र नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा एमाले नेतृत्वको सुदूरपश्चिम सरकार ढलेको छ । आजको बैठकमा प्रचण्ड सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको विषयमा पनि छलफल हुने भनिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update