काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधवार भेटवार्ता भएको छ । भेटमा बिहिवार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउन दुई नेता सहमत भएका छन् । राष्ट्रपति उम्मेदवारको एजेण्डा मुख्य बनाएर संयन्त्रको बैठक बोलाउन लागिएको हो ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहेका ओली र प्रधानमन्त्री प्रचण्डबीच ओली निवास बालकोटमा भेटवार्ता भएको हो । भेटबार्तापछि प्रधानमन्त्री प्रचण्डले बिहीबार राजनीतिक संयन्त्रको बैठक बोलाउने र राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने विषयमा कुराकानी भएको जानकारी दिए ।
‘सहज ढंगले कसरी अघि बढ्ने भन्नेबारे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा छलफल गर्छौं, राष्ट्रपतिको उम्मेदवारबारे पनि छलफल हुन्छ, बालकोटबाट बाहिरिने क्रममा प्रचण्डले भने ।’
राष्ट्रपति पदको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । सत्ता साझेदार दलहरुबीच मतभेदका बढेको भनिएका बेला प्रधानमन्त्री प्रचण्डले आज ओलीसँग भेटवार्ता गरेका हुन् ।