–जानुका धमला
आज त्यही दिन हो बैशाख २९ गते । २०६२ को बैशाख २९ को त्यो दिन, आज स्मृतीमा झल्झली छ । त्यो दिन जुन दिन सान्दाने भिडन्तबाट यो शरिर बाँचेको थियो । र आज आफु बाँचेको भिडन्तलाई स्मरण गर्दैछ । त्यो दिन जुन दिन, बन्दीपुर मोर्चाबाट फर्कदै गर्दा बाटोमा भिडन्तपछि शाही सेनाले आत्मसमर्पण गरेको थियो । उत्तम खड्का (क.उदय) अमृता थिङ्ग (क.सुभद्रा) प्रेमलाल स्याङतान (क.आमुल) ले सहादत प्राप्त गरेको दिन ।
मेरा प्रियजनहरुको चिहानघारीको साक्षी हुँ म । तिनीहरुको चिहान नजिकै गएर खोतल्ने गर्छु म तिनका कालो भएका अस्तुहरु । एकान्तमा बस्दा मलाई त्यही मसानघाटमा जलेका आत्माहरुले घाँटी निमोठ्छन् । चिहानघारीको समिपबाट चिच्चाईरहेको आभास गर्छु म विगतका मेरा सहयोद्धाहरुको आवाज । खै किन आभास गर्छु म आजकाल यो चिच्याहटलाई ? थाहा छैन ।
त्यो दिन
कफन निधारमै छ, अघिल्लो दिनको । फुकाउने समय पनि थिएन । घाईते साथीहरु स्ट्रेचरमा बोक्दैमा फुर्सद छैन् ।
अघिल्लो दिन कमला खोला तर्नेबेला भिजेका जुत्ता मोजा, टाटेपाटे ड्रेस सुकेकै छैन् । चिसोले गोडाका औँलाहरु कट्कटी खाइरहेको छ । अघिल्लो दिन जुन स्थानबाट गएका थियौं भोलिपल्ट त्यही बाटो भएर फर्कनुको विकल्प थिएन हामीसँग ।
क्षितिजमा उदाएको प्रभातले संकेत गरिसकेको छ, बिहानीको ।
चुुरेको होचा थुम्का नजिकबाट शाही सेनाको अमेरिकी आधुनिक हतियारसहित ४ वटा नाइट भिजन हेलिकप्टर र एम आइ १७ बाट ८१को सेल जिपिएमजी÷एलएमजीबाट भिषण आक्रमण भयो । त्यसको कुनै पनि प्रभाव छैन जनमुक्ति सेनामा ।
कमला खोलाको बगरमा हिजो जुन उत्सुकता थियो त्यो अलि मथ्थर छ आज । हिँडेका बाटाहरु सरल मात्र कहाँ हुन्छन् र ? घुमाउरो र अप्ठयारो पक्कै पनि छन् । आखिर युद्ध पनि सिक्काको दुई पाटो नै त हो ।
अहिले सत्ताधारीहरुलाइ जति सजिलो भएको छ नि गणतन्त्र नेपाल भनेर गित गाउन, त्यसको रचना गर्ने कुरा बिना बलिदानी र कुर्वानीले कहाँ सम्भव भएको हो र ? त्यस्तै कुरवानीको एउटा मोर्चाको स्मरण हो यो ।
बन्दीपुर मोर्चाका घाइते काभ्रेका बुद्धिमान मोत्तान (क.शक्ति)को घुँडा भन्दा तल २ इन्च मोर्टारको सेल लागेर छिनेको शरिर छ । उनी असह्य पिडाले चिच्चाइरहेका छन् ।
‘म बाँच्न चाहन्छु, मलाई बचाउ’
हरेक योद्धा आफ्नो युद्धको मोर्चामा बिना जित मर्न चाहन्न, छिया छिया शरिरमा श्वास हुन्जेल योद्धा मात्र जितकै पर्खाइमा हुन्छ ।
बिडम्बना बमबाणले तितरबितर भएको मेडिकल ग्रुप र साथमा भएकाहरुसंग भिटामिन ‘के’ को इन्जेक्सन नहुँदा उनी चिच्चाई चिच्चाई शहिद बने । त्यही चुरेमै । अघिल्लो दिन शक्तिले देखेको सपना भोलिपल्ट विलिन भयो । त्यो योद्धा र उसको सपना चुरेको वालुवामा विलायो ।
यस्तै–यस्तै छ हामीले लडेको जनयुद्ध अनि यसका कथाहरु ।
२२ वर्षको युवाले देखेको संसार जित्ने सपना किन पुरा भएन ? शक्ति जस्तै १७ हजार मान्छेको बलिदानीले ल्याएको गणतन्त्रले क–कसको जीवनशैली फेरियो ? आन्दोलनमा लडेका असली सिपाहीहरु अहिले पनि ५५/६० डिग्रीको घाममा खाडीमा कुल्ली भरिया काम गर्छन् ।
विरताको इतिहास पटक्कै मन पर्दैन, हिजोको गणतन्त्र विरोधीहरुलाई । मेरै नेता कमाण्डरहरुको लागि पनि चासोको विषय होईन इतिहास । भर्चुअल दुनियाँमा फुर्सद मिल्दा मेरा सहयात्री र कमाण्डरहरुसँग कुरा गर्न खोज्छु, केही त वास्ता पनि गर्दैनन् । केहीले भन्छन्, अब आउने चुनावमा नेकपा भन्ने पार्टीले वडा सदस्यको लागि नाम सिफारिस गरिदिन्छ । त्यसैले टिकटकै लागि भए पनि अन्यायको लागि बोल्नुहुँदैन् ।
वाह ! तिम्रो हिजोको इतिहास र वर्तमानमा रमाएको जीवन ।
अँ साच्ची चुरेको कुरा गर्दै थिएँ, खाने कुरा त परकै भयो हामीले चुरेमा पानी समेत पनि खान पाएका थिएनौं । कस्तो फरक हुन्छ है जित र हार ? अघिल्लो दिन खाएको खानाले ३६ घन्टा हुँदा पनि धानिरहेको पल ।
अहिले सम्झँदा लाग्छ, अजिव थियो वर्गप्रतिको त्याग, निष्ठा, प्रेम । रगतको आहालमा पौडेर उत्रेकाहरुलाई किन छुँदैन विगतले ?
रातको १० बजे सिथौली खोला तरेर चिसापानी डाडाँ जादै गर्दा १०० केजी चिउराको भारी बोकेका मकवानपुरका राम प्रसाद ढुङ्गाना के गर्दे होलान आजकाल ? अहिले उनको जिन्दगी नियाल्ने हो भने त्यो भन्दा ठुलो भारी बोक्छन् उनी जीवनयापनको लागि अरु कसैको ।
उनी सगै युद्धमोर्चामा लडेका नेता कमाण्डरहरु छेउछाउमा झण्डावाला गाडीमा सवार छन् । धन्य छौ प्रभु ! तिमीहरु लड्दा संगै अहिले तिमी करोडमा म रोडमा उनको जीवन भोगाई हो, यस्तै छ ।
लंगुर खोलामा झरेका मात्र थियौं । आकाशमा हेलीले फेरी फन्का लगाउन शुरु ग¥यो । नजिकै बेल्टार चकमकेमा शाहीसेना खसाल्यो । हामी सबैतिरबाट सेनाको घेरामा घेरियौं ।
बेल्टारमा भएको सेनाले माओवादीको स्थानीय समुन्द्र नामका कार्यकर्तालाई कब्जामा लिएर सर्च अभियान शुरु ग¥यो । हामीले बस्ने प्रत्येक सेल्टरमा सुराकी गर्न थाल्यो । बाँच्ने आशामा उनले पनि त्यही गरे । अन्त्यमा सान्दानेको भिडन्तमै उनी शाहीसेनाबाट मारिए ।
यहाँसम्म आइपुग्दा बेथान स्मृति ब्रिगेड मात्र बाँकी छ । चारैतिर घेराबन्दीको अवस्था छ । निकास कहाँबाट हुन्छ कमाण्डर कमिसारहरु खोजिरहेको छन् । कमाण्डर हुने कुरा पनि सजिलो थिएन् । त्यो बेला कठिन परिस्थितिसँग आफनो फोर्सलाई सुरक्षीत गर्नु कम्ता गाह्रो थिएन् ।
त्यो बेला आफ्ना सदस्यलाई कसरी बचाउने भनेर सोच्ने कमाण्डर नेताहरु अहिले किन चिन्दैनन् होला उनै सदस्यलाई ? के समयसँगै वर्ग फेरियो ? वर्गसँगै कमाण्डर फेरिए, फेरिए उनको चिन्तन ? हिजोको त्यो वर्गिय माया अहिले कहाँ हरायो होला ? के वर्गिय माया पनि यसरी विलिन हुन्छ ? खैर, हुँदोरहेछ ।
सान्दाने नजिकै गाउँहरुमा सेल्टर लिन जाँदै गर्दा दुश्मनहरुलाई राम्रोसँग थाहा छ, हाम्रो अवस्था र उनीहरुको पनि । उनीहरुले हामीलाई चिसापानी, घ्या¨डाडा, कालीमाटी, चकमके, बाहुनतिल्पुङ्गबाट हालेको घेराको बिचमा हामी छौं ।
बन्दीपुर मोर्चापछि राज्यको ध्यान पुर्व केन्द्रीत भयो । रातारात पुर्वका अधिकांस स्थानमा शाही सेना तैनाथ गरिए ।
हामीलाई उनीहरुसँग भिड्नुको विकल्प नै छैन अब । घाईते साथीहरुलाई सुरक्षीत गरेर भिडन्तको लागि तयार भयौं । म हेडक्वाटरमा एलएमजी ग्रुप सँगै थिएँ । दुईवटा बाटो थियो दुस्मन माथिल्लो बाटो गयो ।
जनमुतिm सेनाको स्पेशल फोर्स एलएमजी तिफदी २ इन्च मोटार्रसहित जंगलतिर गयांै । जनताको क्षति नहोस् भन्ने चाहाना थियो हाम्रो ।
यतिबेला हामी आमुन्ने सामुन्ने भएर भिडिरहेका छांै । लामो दुरिको हतियारले दुवै तर्फको क्षति हुने कुरा स्पस्ट छ । दुस्मनले हानेको जिपिएमजीको गोलि लाग्यो उत्तम खड्का (क.उदय)लाई । एउटा योद्धा गुमायौं हामीले । अर्थात मारिए उनी । उनको रगतको मुल्यांकन हुँदो हो त उनी शहीद हुन्थे । तर अहँ उनी मारिएका हुन् । अहिले यो बेला यस्तै लागिरहेको छ ।
अहिलेसम्म पनि याद छ मलाई, उदयले बन्दीपुरबाट फर्कदँै गर्दा लंगुर खोलामा भनेको शब्द ‘१ बर्षको लागि जीन्दगी ग्यारेन्टी भयो ।’ अफसोच ! उनी त्यही सान्दानेको बारीका पाटामा रोपीए । त्यसैले त भन्न मन लाग्छ, युद्धमोर्चामा संगै लड्दा लड्दै जीवनको बलि चढाएका तिम्रा सहयोद्धाहरुको पनि चिहानतिर फर्केर हेर अजम्बरी त तिमीहरु पनि छैनौ नी ।
युद्ध भिषण चलेकै छ, सान्दानेको माथिल्लो भाग जनमुक्ति सेनाले कब्जा ग¥यो । शाही सेनाहरु तल परे । चारैतिरको हमलापछि उनीहररुले संचार सेट मार्फत भनिरहेका थिए, हामी मर्न चाहदैँनौ आत्मसमपर्ण गरेर हतियार बुझाउँछौ । उनीहरु सबै ढुङ्गे ओढारमा गएर लुके ।
सैन्य शब्दावलीमा सेतो कपडा देखाउनु भनेको युद्धविराम गर्नु, आत्मसमर्पण गर्नु र हतियार बुझाउनु हो । दुस्मनले सेतो कपडा देखाएर आत्मसमपर्ण गरे । चारैतिर छरिएका जनमुक्ति सेनाहरुलाई हतियार लिन जान आदेश गर्ने कमाण्डर तिनै हुन्, हरि बहादुर श्रेष्ठ (क.प्रमोद), गोविन्द बहादुर बटाला (क.जिवित) र अर्का कमाण्डर हुन् वहालवाल प्रदेश नंबर ३ का सामाजिक सुरक्षा मन्त्री युवराज दुलाल (क.शरद)।
बलियो फोर्टिफिकेशन भित्र लड्न जति सजिलो थियो, त्यती सजिलो थिएन शाही सेनाहरुलाई योपटक । उनीहरुको बाहिरी भिडन्तमा हारका थुप्रै उदारणहरु छन् । सान्दानेमा पनि उनिहरु हारे उसैगरी । आत्मासमर्पण गरे । हतियार लिन बोलाए । उनीहरुले छोडेको गोली र झोलाहरु संकलन गर्दै हतियार लिन जाँदै गर्दा करिब ५०० मिटरको दुरीमा थियौं । आकाशमा हेलिकप्टर र एम आई १७ हेलिकप्टरहरुले चक्कर लगाउन थाले । एकाएक वातावरण अर्कै भयो । सेनाको आकस्मिक आक्रमणले अवस्था जटिल बन्यो । हतियार लिन गएका जनमुक्ति सेना माथिबाट ८१ का सेलहरु हानिएपछि तितिरबितर भयौं । बेथान स्मृति ब्रिगेडका कमिसार गंगा कार्की (क.विश्व) संग पनि सम्पर्कविच्छेद भयो । पछि उनी कालीमाटीमा सेनाको घेरामा परेर घेरा तोड्ने क्रममा भिरबाट लडेर घाइते भएको खबर पायौं ।
क्षीतिजमा उज्यालो ताकेर हिँडेको उदय आज सान्दानेको माटोमा विलिन भयो । आफ्नो छोराको लास नदेखेकी आमालाई अहिले पनि लाग्छ रे, आमा भन्दै कतैबाट आईहाल्छ कि भनेर । सुनौलो सपना बोकेर जनयुद्धमा हिँडेको छोराकी आमाको अवस्था फेरिएको छैन् । खै ति छोरोहरुकै रगतले माथी पुगेकाहरुले कसरी वर्ग फेर्न सके ? तिनका लागि छोरा बलिदान गर्ने आमाको अवस्था झनै ददर्नाक छ ।
म ति आमालाई पनि के भन्न सक्छु र ? उदय जस्तै १७ हजार छोराछोरीको सपनामा धोका भएको छ आमा । कसरी मल्हम पट्टी लगाउँ म तपाईको चिरिएको घाउमा ? माफ गरिदिनुस् ।
खासमा हामी आफ्नै दैलोमा ठेस लागेर पछारिएका हौं । जनयुद्धको त्याग तपस्या र बलिदानलाई किन नजर अन्दाज गरिएको होला आज ? कहाँ सोध्ने यो प्रश्न ? त्यसैले भनेकी हुँ मैले, दैलोमा ठेस लागेपछि मुर्छित छन् मेरा सपनाहरु भनेर ।
हो, तालमा नाँच्न सिपालुहरुले केही फाइदा लिए नै । जुन लालकिरणका खातिर ति योद्धाहरुको बलिदान भयो नि त्यसको अर्थ अझै धुमिल छ ।
चतुरमान वाइबा (क.अनिस) यो अर्काे नाम हो । जनयुद्धको क्रममा मध्यकमाण्डको सैन्य मोर्चामा उनको योगदानको बारेमा सन्दर्भ मिलाएर भलाकुसारी गरुँला । बाहुनतिल्पुङ्ग बजारमा सेनाले संचारसेट कब्जा गरेपछिको बार्तालापको साक्षी हुँ म । दुश्मनले तँ को हो ? भन्दा ‘म तेरो चिहान हुँ जहाँ तिमीहरुको मालिकको राज्यको अन्त्य गरेर सर्वहारा वर्गको मुक्तिदाता ।’ ओहो, यो शब्द अहिले झनै प्यारो लाग्छ मलाई । हिजोको मेरा प्रिय कमाण्डर हुन् उनी । क्षीतिजको उज्यालो देख्नुअगाबै बिलाएका रातो तारा । अरुको बलिदानीलाई लालपुर्जा बनाएका मालिकहरु हो एक पटक चतुरमान वाइवा सिन्धुहरु जस्ता सहयात्रीहरुलाई पनि सम्झ न ल ।
यो बसाईमा मैले उदयको बारेमा केही लेखिनँ भने मलाई पक्कै उसको आत्माले सराप्ने छ । म जीवित हुनुको पनि अर्थ रहँदैन् सायद ।
उदय जनमुतिm सेनाको फर्मेशनमा बेथान स्मृति बटालियन बन्नु अघि नै जोडिएको नाम हो । उदयपुरमा जन्मिएका योद्धा हुन् । ति योद्धालाई अहिले को कस्ले सम्झदाँहुन् । उनकै बलिदानीको पुलमा शिखर चढेकाहरु पछाडी फर्केर हेर्दाहुन् कि नाईं ? खैर, केही उनकै सहयात्रीको स्मृतीका पानाबाट म तपाईंहरुलाई क. उदयलाई चिनाउँछु ।
जीवन देबकोटा (क. श्रोत)
मैले दैनिक सम्झने नाम हो उदय । उमेरले मभन्दा केही जेठो भएपनि हामीमा असल मित्रको व्यवहार हुन्थ्यो । मैले नयाँ कपडा किनेर ल्याएर उसलाई लगाउन दिन्थें । पहिला शरिरमा अमिल्दो भएपनि लगाउनै पथ्र्यो उसलाई । उसले फिर्ता कि च्यातिएपछि गथ्र्यो कि धुन अल्छी लागे ।
अर्काे प्रसंग पनि छ, रामेछापको चुचुरे गर्जाङ्घमा भएको भिडन्तमा हामी दुश्मनको क्याम्पमा फस्ने अवस्थामा थियांै । मर कि मार मा परेका हामीलाई सपोट फायर गरेर बचाएको हो उदयले ।
२०६० सालतिर यो नाम सर्लाही उदयपुर सिराहातिर निकै चर्चित नाम हो । त्यतिखेर युद्ध राजमार्ग केन्द्रित थियो । उदय संग ११/१२ वटा कमाण्डो मोर्चा सँगै लडियो । सर्लाहीको दुईवटा घटनाहरु सम्झँदा अहिले पनि डर लाग्छ । उदय म, राज हरिवनको चिनिमिलमा पुग्दा शाही सेनासंग जम्काभेट भयो हामी भागेनौं । उदयले सबै सेनासँग हात मिलायो । सेनाहरु थुचुक्क परेर बसे । यति पावरफुल थियो उसको शरिर । रमाइलो गफगाफ पछि हामी आ–आफ्नो बाटो लाग्यौं । एउटा विद्रोही सिपाही दुस्मनको समिपमा बसेर हात मिलाउँदा के अनुभुति गर्छ होला ? अहिले त्यही कुराले अचम्मित बनाउँछ । त्यो उसको युद्धकला थियो । सायद यो घटना कमैले पत्याउलान् साक्षी राज र म अझै जिउँदै छौँ । २०६०
भदौमा उनीहरुको क्याम्पमा धावा बोलेर विजय हासिल गरेका हौँ हामीले ।
माया दिदी विरामी भएर हरिवनको नर्सिङ्ग होममा भर्ना गरिएको थियो । त्यही बेला शाही सेनाको सिपाही पनि विरामी भएर त्यही आएको रहेछ । हामी क्यास काउन्टरमा गयौं । उनीहरु आएको देखेर हामीले हतियार कक ग¥यौं । काउन्टरको मान्छे बेहोस भएर ढले । हामी आफ्नो बाटो लाग्यौं ।
गोविन्द बहादुर बटाला (क.जिवित)
लडाइँमा साहसिक एकदमै इमान्दर कमाण्डर हो । मर्न कहिले पनि डर नमान्ने सर्वहारा वर्गप्रति निस्वार्थ प्रेम थियो । जस्तो सुकै अनुकुल परिस्थतिलाई पनि प्रतिकुल बनाउन सक्ने क्षमता भएको । लडाइँमा दोश्रो स्थान मन पर्दैनथ्यो उसलाई पनि ।
राम पाण्डे (क.उदिप)
निकै फरासिलो हक्की स्वभाव थियो । चुचुरे गजाङ्गको भिडन्तमा हामी सँगै घाइते भएका हौं । सानोतिनो पिडालाई कहिल्यै अनुभव नगर्ने लडाइँका बहादुर चलाख युद्धकलाले भरिपुर्ण कमाण्डर हुन् ।
कमरेड उदयसँगका स्मृतिका पाना यति छोटा छैनन् । जो यहाँ भनेर साध्य होस् । वर्गियमुक्ति, वर्गयुद्ध छेडेर परिर्वतनको लागि युद्धको ज्वालासँगै बलेका, माटोका लागि लड्दै माटोमै विलिन भएका, अधिकारका लागि लड्दालड्दै बीच बाटोबाटै छोडिएका सबै योद्धाको स्मृतीले मानसपटल हरपल धुम्मिरहन्छ ।
हार्दिक श्रद्धासुमन ति लालयोद्धालाई जसले अरुका लागि आफुलाई चढाए शुलिमा । सान्दाने भिडन्तमा शहादत प्राप्त गर्ने सबै योद्धाप्रति हार्दिक श्रदासुमन ।