काठमाडौं । २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षा स्ववियु निर्वाचनपछि हुने भएको छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको तालिका अनुसार शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित तथा आंशिक परीक्षाहरु २०७९ चैत १२ गतेदेखि सुरु हुनेछन् ।
त्रिवि कार्यकारी परिषदले चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरिसकेको छ । स्ववियु निर्वाचन लगत्तै परीक्षाहरु संचालन गर्ने त्रिविले सूचना मार्फत जनाएको छ । यसअघि फागुन १० गतेदेखि परीक्षा सन्चालन गर्ने तालिका त्रिविले निकालेको थियो । स्ववियु निर्वाचन भाग लिन नदिनका लागि हतारमा परीक्षा सन्चालन गर्न खोजेको भन्दै विद्यार्थी संगठनहरुले विरोध जनाएका थिए ।
कोरोना महामारीको समयमा बिग्रिएको शैक्षिक क्यालेन्डरका कारण हाल त्रिविमा २०७७ र २०७८ सालमा भर्ना भएकाहरु गरी दुई ब्याच छन् । त्यसैले चार वर्षे स्नातक तहमा पाँच वटा ब्याच छन् । स्ववियु निर्वाचनमा चार वटा ब्याचले मात्र मतदान गर्न पाउने भएकाले चौथो वर्षलाई छिट्टै धपाउन लागि छिट्टै परीक्षा गर्न लागिएको भन्दै विद्यार्थीहरुले विरोध जनाएका थिए ।