Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
राष्ट्रपतिको विषयले सत्ता साझेदार दलबीच खटपट

काठमाडौं । राष्ट्रपतिको विषयले सत्तासाझेदार दलहरुबीच खटपट सुरु भएको छ । सत्ता गठबन्धन बनेको एक महिनामै सत्तारुढ घटक दलबीच असमझदारी बढ्न थालेको हो । पुष १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएपनि कार्यान्वयनमा समस्या देखिन थालेपछि खटपट देखिन थालेको हो ।

एमालेलाई राष्ट्रपति दिने पुर्व समझदारीबाट माओवादी केन्द्रले आनाकानी गर्न थालेपछि गठबन्धनमा दरार आउनसक्ने सम्भावना बढेको छ । पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रपति राष्टिय सहमतिका आधारमा चयन हुनुपर्ने धारणा अघि सारेका छन् । प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले पनि विश्वासको मत दिएपछि राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने निर्णय माओवादीले लिएको हो । 

औपचारिक रुपमै निर्णय गरेर माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेपछि एमाले नेताहरु थप शसंकित भएका छन् । गठवन्धनलाई दाउमा राखेर भए पनि आफू अनुकुल राष्ट्रपति बनाउने प्रचण्डको रणनीति छ ।

नागरिकता मुद्दा हारेर रवि लामिछाने पदमुक्त भएपछि रिक्त रहेको गृह मन्त्रालयको बिषयमा पनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मतभेद देखिएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  ०८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update