साझावोली डटकम अनलाईन पत्रिकाले आजैको मितिबाट बिधिवत रुपमा बैधानिकता प्राप्त गरेको थियो । अनलाईनले बैधानिकता प्राप्त गरेको आज ठिक तेस्रो वर्ष पुरा गरेर चौथो वर्षमा प्रवेश गरेको छ । यस अवसरमा हामी सम्पूर्ण पाठक, शुभेच्छुक, सहयोगी र विज्ञापनदाताहरुमा हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छौं ।
मिडिया (खासगरी अनलाईन) स्थापना गर्ने होड चलिरहेको पृष्ठभूमिमा हामीले व्यवसायिक पत्रकारितामा एउटा ईट्टा थप्ने उदेश्यका साथ साझावोली डटकम संचालनमा ल्याएका थियौं । त्यसैले यो तीन वर्षको अवधिलाई हामीले व्यवसायिक पत्रकारिताका लागि सिकाई अर्थात परीक्षण अवधिको रुपमा लिएका छौं । अब भने हामीले पाठकसामु साँच्चै व्यवसायिक पत्रकारिताको अभ्यासमा आफुलाई अब्वल बनाउने प्रतिवद्धता गर्ने बेला आएको महसुस गरेका छौं ।
केही गलत र परम्परागत ट्रेन्डलाई भत्काएर व्यावसायिक पत्रकारिताको जगलाई बलियो बनाउन सहयोग पुर्याउने र डिजिटल प्लेटफर्ममा हाम्रा सामाग्रीहरुलाई बिस्तार गर्ने चुनौती हाम्रोसामु खडा छ । निकट भविष्यमा त्यसमा केही नयाँ प्रयासको थालनी गर्ने योजना हामीले बनाएका छौं ।
त्यसबीचमा हामीले अनेक संकट र समस्यासँग जुध्नुुपर्नेछ । आईपर्ने चुनौतीलाई कुशलतापूर्वक चिर्दै हाम्रो व्यवसायिक सक्रियता र गुणस्तरियतालाई नयाँ उचाईमा उठाउन सक्छौं भन्ने विस्वास छ । यसको अर्थ आगामी दिनमा आफुलाई थप परिस्कृत र परिमार्जन गर्ने हाम्रो प्रतिवद्धता हो ।
हामी पत्रकारिताको आचारसंहिता, विश्वव्यापी सिद्धान्त र मुल्यमान्यताका प्रति जानजान गल्ती गर्दैनौं । जानअन्जानमा कतै चुक्दै गएको अबस्थामा पाठकबर्गबाट खबरदारी रहिरहनेछ भन्ने अपेक्षा राख्दछौं । गल्तीबाट पाठ सिक्दै आफुलाई करेक्सन गरेर अघि बढ्न हामी तयार छौं ।
अहिलेलाई यति भनौं, सत्यलाई दबाब, प्रभाब वा कुनै प्रतिशोधबाट निषेध गर्ने प्रबृत्तीसँग सम्झौता नगरी जिम्मेवार र मर्यादित पत्रकारिताको निष्ठाबाट अविचलित अघि बढ्ने हाम्रो संकल्प हुनेछ । गलत कुराको विपक्षमा उभिँदा कतिपयले निष्पक्षताको प्रश्न उठाउने गरेका छन् । हामी यो कुरामा प्रष्ट हुनुपर्दछ कि बिकृति, विसंगतीको बिपक्षमा उभिनु नै सत्य, निष्पक्ष र साझा पत्रकारिताको मर्म भएकोले साझावोली डटकमलाई साझा प्लेटफर्मकै रुपमा अघि बढाउने हाम्रो प्रयास हुनेछ ।