चरिकोट । सामान्यतः गाउँपालिका केन्द्रका लागि मापदण्डको आधारमा सम्भावित स्थानको प्रस्ताव गरिन्छ । दोलखाको कालिञ्चोक गाउँपालिकाले अघिल्लो कार्यकालमा गठन गरेको सुझाव कार्यदलले केन्द्र निर्धारण सम्बन्धी मापदण्डको केही बुँदामा टेकेर सम्भावित तीन स्थानमा गाउँपालिका केन्द्र राख्दा उपयुक्त हुने निष्कर्ष निकालेको थियो ।
तर शुक्रवार बोलाईएको गाउँसभामा उक्त संख्या बढाएर गाउँपालिका केन्द्रका लागि एकाएक १२ स्थानलाई प्रस्ताव गरिएको छ । स्थायी केन्द्रका लागि प्रस्ताव गरिएका स्थानहरुमा वडा नम्बर ९ को कटुवाचौर, वडा नम्बर ८ को मेलडाँडा, वडा नम्बर ७ को आहाले र स्याउली बजार, वडा नम्बर ४ कुविन्डे र थलारी, वडा नम्बर ३ को सिंगटी र पोखरे खुरुले, वडा नम्बर ५ को आहालेखेत र वन्देथली, वडा नम्बर ६ को लेप्टुङ र वडा नम्बर २ बाबरे रहेका छन् ।
यसरी मापदण्डभित्र नपर्ने स्थानहरुपनि स्थायी केन्द्रका रुपमा प्रस्ताव गरिएपछि गाउँपालिकाबासीले अनौठो मानेका छन् । कुन मनसायले यति धेरै स्थानको प्रस्ताव ल्याईएको हो भन्ने कुरा खुलेको छैन । शुक्रवारको गाउँसभामा स्थायी केन्द्रको रुपमा १२ स्थान प्रस्ताव गरिएपनि निर्णयार्थ प्रस्तुत गरिएको छैन । गाउँसभाको अर्को बैठक यही माघ २३ गते पुन बस्ने बताईएको छ ।
गाउँसभाले पालिकाको स्थायी केन्द्र टुंगो लगाउन खानी तथा भुगर्भविभागलाई पत्राचार गरेर प्राविधिक टोली झिकाउने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले गाउँपालिकाकाको स्थायी केन्द्र छिटो टुंग्याउन आफु लागि परेको उपयुक्त भुगोल छनोटका लागि भुगर्भविदको टोली झिकाउने निर्णय भएको जानकारी दिए । हाल गाउँपालिका केन्द्रबारे धेरै ठाउँबाट आफु अनुकुल प्रस्ताव आएपनि भुगर्भविदको टोलीले गरेको अध्ययनको आधारमा उपयुक्त निष्कर्षमा पुग्ने शिवाकोटीको भनाई छ ।
यसअघि गाउँपालिकाको स्थायी केन्द्रका लागि तीन स्थान प्रस्ताव गरिएपनि मुख्यगरी सुनखानी र वडा नम्बर ५ को बन्देथली दुई स्थानबारे जनप्रतिनिधि बिभाजित भएका थिए । नयाँ जनप्रतिनिधिले निर्वाचन प्रचारको क्रममा गाउँपालिकाको पहिलो सभाबाटै स्थायी केन्द्र टुंगो लगाउने प्रतिवद्धता जनाएका थिए । तर नयाँ जनप्रतिनिधि निर्वाचित भएको १ वर्ष बित्न लाग्दापनि स्थायी केन्द्र टुंगो लाग्न नसकेको हो । प्रदेश र संघको निर्वाचनमा जनमत बिग्रिने भयले केन्द्रबारेको विषय थाँती राखिएको थियो ।