Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
तामाकोशी पाचौँ निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिईदै

काठमाडौं । तामाकोसी-५ जलविद्युत आयोजना निर्माण चिनियाँ कम्पनीले गर्ने भएको छ । आयोजना निर्माणका लागि परेका प्राविधिक प्रस्ताव मध्ये दुई चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेड र चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड सर्टलिस्टमा परेका हुन् । अब ती दुई कम्पनीमध्ये एकले आयोजना निर्माणको ठेक्का पाउने आयोजनाका अधिकारीहरु बताउँछन् ।

आयोजना प्रवद्र्धक कम्पनी तामाकोसी जलविद्युत कम्पनी लिमिटेडले साउन ९ गते आयोजनाको सिभिल र हाइड्रो मेकानिलतर्फको वोलपत्र आव्हान गरेको थियो । अब उक्त दुई कम्पनीको वित्तीय प्रस्तावको मूल्यांकन पछि छनौट प्रक्रिया अघि बढ्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले बताए । 

सार्बजनिक खरिद ऐन र नियमावलीमा उत्कृष्ट ठहरिने कम्पनीले ठेक्का पाउने ब्यवस्था छ । माघ २० गते आर्थिक प्रस्ताव खोलिने कम्पनीको तयारी छ । ४ वर्षमा आयोजना निर्माण गरिसक्ने लक्ष्य राखिएको छ । चालु वर्ष ठेक्का सम्झौतापछि आगामी वर्षबाट निर्माण कार्य सुरु गर्ने योजना छ । सर्टलिस्टमा परेको सिनो हाइड्रोले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सिभिल संरचना निर्माणको काम पनि गरेको थियो । 

इन्जिनियर प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपीसी) मोडलमा निर्माण गर्नेगरि कम्पनीले ठेक्का निकालेको बताईएको छ । करिब १०० मेगावाटको यो आयोजना माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको क्यासकेड हो। माथिल्लो तामाकोसीको टेलरेसको पानी प्रयोग गरेर यो आयोजनाबाट विद्युत उत्पादन गर्ने तयारी छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update