Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
चरिकोट खानेपानीको बिवाद गहिरिँदै

चरिकोट । दोलखा सदरमुकाम चरिकोट र आसपासका क्षेत्रको खानेपानी समस्या समाधान गर्न बनेका दुई संस्था बीचको बिवाद गहिरिँदै गएको छ । चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता समिति र चरिकोट सहरी खानेपानी तथा सरसफाई आयोजनाबीचको बिवाद उत्कर्षमा पुगेको हो ।

दुुई संस्थाबीच खानेपानीको मुहानदेखि निर्माणाधिन संरचना र खानेपानी बितरण लगायतका विषयमा गम्भिर बिवाद छ । चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिले दुई संस्थाबीच एकिकरण नभएको भन्दै आफु मातहत संरचनामा हस्तक्षेप भैरहेको भन्दै आपत्ती जनाएको छ ।

समितिले बिहिवार एक बिज्ञप्ती जारी गर्दै सहमति बेगर जबर्जस्ती ताला लगाएको ट्यांकी क्षेत्रमा तारवार नाघेर थप संरचना निर्माण गर्न थालिएको भन्दै भत्काउने चेतावनी दिएको छ । थप संरचना निर्माण गर्ने लगायतका आयोजनाको गतिबिधि अबैध रहेको र त्यसबाट उपभोक्ताले थप समस्या झेल्नुपरेको समितिको भनाई छ ।

‘आयोजनाले पानीजस्तो विषयमा खेलवाड गर्दै यस समितिको ट्यांकीमा अनावश्यक हस्तक्षेप गर्दै थप संरचना निर्माण गर्दा २५ सय भन्दा बढी उपभोक्तालाई नियमित पानी आपुर्तिमा समेत समस्या भएकोले तत्काल उक्त कार्य बन्द नगरे आम उपभोक्ताले अवैधानिक ढंगले बनाएको संरचना भत्काउन बाध्य हुने ब्यहोरा अवगत गराउँदछौं, समितिले जारी गरेको बिज्ञप्तीमा भनिएको छ । 

समितिले गत भदौ ४ गते विशेष साधरणसभा मार्फत चरिकोट सहरी खानेपानी तथा सरसफाई आयोजनासँग एकिकरण नगर्ने निर्णय गरेको थियो । 

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update