चरिकोट । दोलखाले यो पटकको संघ र प्रदेशको मन्त्रिपरिषदमा प्रतिनिधित्व हुने अबसर गुमाएको छ । सत्ता साझेदार दलले संघ र प्रदेशको दुबै मन्त्रिपरिषदमा दोलखाबाट निर्बाचित सांसदहरुलाई मन्त्रिपरिषदमा प्रतिनिधित्वको अबसर नदिएका हुन् ।
दोलखाबाट सत्तासाझेदार दल नेकपा एमालेका ईश्वरी रिजाल, माओवादी केन्द्रका गंगा कार्की ‘विश्व’ संघ र एमालेबाट भरत केसी, ठुला थामी, उर्मिला सुनुवार र राप्रपाकी मोनिका श्रेष्ठ वाग्मती प्रदेश सांसद छन् । प्रनिधिनिधिभा सांसद कार्की र रिजाल तथा प्रदेशसभा सांसद केसी मन्त्री बन्ने दौडमा थिए ।
मन्त्रिपरिषदमा जिल्लाको प्रतिनिधित्व हुँदा जिल्लाको विकास निर्माण देखि नीतिगत तहमा भूमिका थप बलियो हुने जानकारहरु बताउँछन् । यद्यपी तत्काललाई दोलखाका सांसदहरु मन्त्री बन्ने सम्भावना टरेको छ । संघीय मन्त्रिपरिषदले करिब पूर्णता पाईसकेको छ भने वाग्मती प्रदेशको मन्त्रिपरिषदले पुर्णता पाईसकेको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्री नियुक्त भएको १७ औं दिनमा दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिएका हुन् । नेकपा एमालेबाट मन्त्रिपरिषद्मा एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशव पोखरेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् ।
माओवादी केन्द्रबाट युवराज दुलालले भौतिक पूर्वाधार विकास, गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन र कुमारी मोक्तानले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् । राप्रपाका डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारी तथा राजु विष्ट वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
विनाविभागीय मन्त्री रहेका उद्धव थापाले खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । एमालेबाट यसअघि जगनाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भइसकेका छन् ।
केन्द्र सरकारको बाँकी दुई मन्त्रालय पनि सरकारलाई समर्थन गर्ने साना दललाई दिने तयारी छ । प्रदेशमा मन्त्रालयको संख्या घटाईएको र अन्य जिल्ला प्राथमिकतामा परेका कारण दोलखाका सांसदहरुले यो पटक अबसर नपाएको बताईएको छ ।
अघिल्लो कार्यकालमा एमालेबाट पोलिट ब्युरो सदस्य पार्वत गुरुङ संघीय मन्त्री तथा केन्द्रीय सदस्य सरस्वती बस्नेत, रचना खड्का र माओवादी केन्द्रका नेता विशाल खड्काले प्रदेशमा मन्त्री बन्ने अबसर पाएका थिए । त्यसअघि संघको क्याविनेटमा आनन्द प्रसाद पोखरेल, भिमबहादुर तामाङ र देवी खड्काले मन्त्रीको रुपमा प्रतिनिधित्व गरिसकेका छन् ।