काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयताविरुद्ध अभिव्यक्ति नदिन मन्त्रीहरुलाई निर्देशन दिएका छन् । त्यस्तो अभिव्यक्ति दिए स्पष्टीकरण सोध्ने चेतावनी पनि प्रधानमन्त्री प्रचण्डले दिए । राष्ट्रियसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सबै संविधानको मर्मअनुसार चल्नुपर्नेमा जोड दिएका हुन् ।
संघीयता खारेज गर्नुपर्यो भन्ने कुरा मन्त्रीले उठायो र सांसद्ले उठाउनु भयो यो स्पष्टीकरणको विषय हुन्छ । मन्त्रिपरिषदभित्र रहेर संघीयता र लोकतन्त्रविरुद्ध अभिव्यक्ति दिन मिल्दैनु प्रधानमन्त्री दाहालले भने, सांसदहरू वा बाहिर रहेकाहरूलाई आफ्ना धारणा राख्न पाइन्छ तर मन्त्रिपरिषद्भित्र रहेर त्यो गर्न पाइँदैन । यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यसमा स्पष्टीकरणको विषय हुन्छ ।
उनले संघीयता कार्यान्वयन हुने बताउँदै प्रदेश सरकार र स्थानीय सरकार केन्द्रका इकाई नभएको तर समन्वयमा चल्नुपर्ने बताए । उनले संघीय निजामती ऐन ल्याउन नदिइने र अधिकार केन्द्रीकृत गर्ने काम विगतमा भएकाले अहिलेको सरकारले त्यो बाधा हटाउन प्रतिबद्धता जनाए ।