काठमाडौँ । राष्ट्रपतिको निर्वाचन समयमै गर्न नेपाली कांग्रेसले माग गरेको छ । सोमबार बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले राष्ट्रपतिको निर्वाचन संविधानबमोजिम समयमै हुनुपर्नेमा जोड दिएको हो । राष्ट्रपतिको निर्वाचन समयमै गर्न माग गर्ने र राष्ट्रपतिको निर्वाचनको तयारीका विषयमा बैठकमा छलफल भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
उनका अनुसार बैठकले सरकारले राष्ट्रपतिको निर्वाचन फागुन २८ भन्दा पनि पर धकेलेर मात्र गर्नका लागि प्रयास गरिरहेको भन्ने चर्चा सुनिएकाले त्यसो गर्नु उपयुक्त नहुने भन्दै बैठकले ध्यानाकर्षण गराएको छ । संविधानले राष्ट्रपतिको पदावधि पाँच वर्षको हुने र राष्ट्रपतिमा निर्वाचित भइसकेपछि कार्यकाल सुरू हुने व्यवस्था छ ।
तर, ऐनले भने राष्ट्रपतिको कार्यकाल समाप्त हुनुभन्दा एक महिना अगावै राष्ट्रपतिको निर्वाचन भइसक्नुपर्ने व्यवस्था गरेको छ । नेताहरुका अनुसार केन्द्रीय कार्यसमितिको बैठक आगामी आइतबारका लागि बोलाइएको छ ।