चरिकोट – मुलुक लकडाउन (बन्दावन्दी) मा रहँदा दोलखाको प्रसिद्ध गौरीशंकर हिमाल आईतवार खुलेर निकै सुन्दर देखियो । दिनभरको वर्षापछि सूर्यास्तको समयमा मौसममा देखिएको सुधारसँगै गौरीशंकर मनमोहक देखिएको थियो । उक्त तस्वीर धेरैको क्यामेरा र मोवाईलमा कैद भयो ।
हिन्दु धर्मावलम्बीहरुको आराध्येदेव शिव र पार्वतीको पतीकका रुपमा गौरीशंकर हिमालाई लिने गरिन्छ । ७१३४ मिटर अग्लो यस हिमालबाट नेपालको प्रमाणिक समय निर्धारण गरिएको छ । धार्मिक मान्यता अनुसार गौरीशंकर हिमाल आरोहण बर्जित छ । प्रदेश सरकारले त्यसको दर्शनका लागि हिमाललाई एकफन्को घुम्नेगरी परिपथ निर्माण गर्दैछ ।
गौरीशंकर हिमालको फेदीमा सुन्दर च्छोरोल्पा हिमताल र बेदिङ गुम्बा र गाउँ छ । यसलाई व्यापक प्रचारप्रसार गर्न सकने पर्यटकको आकर्षक गन्तव्य बनाउन सकिने सरोकारवालाहरुको विश्वास छ ।
विद्यार्थी र अध्येताहरुका लागि पनि गौरीशंकर महत्वपूर्ण स्थल भएको र जैविक विविधताले भरिएकाले नेपालक ठूलो योग ध्यान केन्द्र स्थल स्थापना गर्नुपर्ने स्थानीयको माग छ ।
फोटो : सुरेश राउत, कैलास लामा, चन्द्र तामांग, लक्ष्मण थामी