काठमाडौं । बिहिवार हहुने प्रतिनिधिसभाको सभामुखको निर्वाचनका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरे र कांग्रेसबाट ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता भएको हो । बुधबार संघीय संसद सचिवालयमा उनीहरुले सभामुखमा मनोनयन दर्ता गराएका हुन् । घिमिरेको उम्मेदवारीको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज पाण्डे, रवि लामिछाने र राजेन्द्र लिङ्देन रहेका छन् ।
यसैगरी नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले मनोनयन दर्ता गराएकी छिन् । बुधबार संघीय संसद सचिवालयमा उनले सभामुखमा मनोनयन दर्ता गराएकी हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र समर्थक एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहेका छन् ।
यसअघि कांग्रेस, एकीकृत समाजवादी र लोसपाका शीर्ष नेताको बैठक कांग्रेस संसदीय दलको कार्यालयमा बसी न्यौपानेलाई सभामुखमा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
प्रतिनिधिसभाका सभामुखको निर्वाचन यही माघ ५ गते बिहान ११ बजे हुँदैछ । उक्त बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ । त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ । प्रतिनिधिसभाको गत पुस २६ गतेको बैठकले माघ ५ गते सभामुखको निर्वाचन गर्न आज निर्वाचन तालिका प्रकाशित गर्न निर्देशन दिएको थियो ।
सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने सवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्नेछ । नेपाली जनताको सर्वभौमसत्ता सम्पन्न सर्वोच्च थलोका रुपमा प्रतिनिधिसभा रहिआएको छ ।