तनहुँ । बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिने फैसला गरेको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको ठहर गरेको हो । शाहका कानुन व्यवसायी कमला मोहन वाग्लेले पलसंगै जिल्ला अदालतले उनका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको बताए ।
एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।
तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पल शाह तत्काल रिहा हुने छैनन् । हाल उनी जिल्ला अदालत नवलपरासी पूर्वको फैसला अनुसारको सजाय भुक्तान गर्न जेलमा छन् ।