काठमाडौं - पाकिस्तानमा शनिवारदेखि लकडाउन खुल्ने भएको छ । त्यहाँको सरकारले शनिबारदेखि लकडाउन खुला गर्ने निर्णय गरेको हो । पाकिस्तानमा कोरोना संक्रमितको संख्या भने बढ्दो अवस्थामा छ ।
सरकारी अधिकारीहरुका अनुसार आर्थिक क्षतिको सामना गर्न नसकिने भएकाले लकडाउन खोल्ने निर्णय गरिएको हो । प्रधानमन्त्री इमरान खानले लकडाउनका कारण धेरै गरिब तथा श्रमिकहरु पिडित बनेका कारण लकडाउन खोल्ने घोषणा गरे । उनले पाकिस्तानमा ठूलो संख्यामा गरिब तथा मजदुरहरु रहेकाले लकडाउन जारी राख्दा उनीहरुले दैनिक जीवनयापन गर्न नसक्ने बताएका छन् ।
मुलुकमा कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेकोमा आफूहरु जानकार रहेको भन्दै उनले अपेक्षा गरिएअनुसार कोरोना भाइरसको संक्रमण नफैलिने दावी गरे ।
पाँच सातादेखि लकडाउनमा रहेको पाकिस्तानमा अहिलेसमम कोरोना भाइरसका संक्रमितको संख्या २४ हजार ७३ पुगेकोमा ५ सय ६४ जनाको मृत्यु भएको छ ।