चरिकोट । पोखरामा भएको एति एअरलाईन्सको विमान दुर्घट्नामा परी मृत्यु भएकाहरुको शोकमा दोलखामा दिप प्रज्वलन गरिएको छ । नेपाल पत्रकार महासंघ दोलखा शाखाले सदरमुकाम चरिकोट स्थित सातदोवाटो चोकमा दिपप्रज्वलन गरेको हो । दिप प्रज्वलन कार्यक्रममा एति एअरलाईन्सको विमान दुर्घटनामा परी मृत्यु भएका नेपाल पत्रकार महासघंका केन्द्रीय सदस्य त्रिभुवन पौडेल लगायत मृतकहरुको चिरशान्तिको कामना गरियो ।
कार्यक्रममा बोल्दै महासंघ दोलखाका शाखाका अध्यक्ष दिपशंकर चौलागाईले विमान दुर्घट्नामा परी महासंघका केन्द्रीय सदस्य लगायतका व्यक्तिहरुको मृत्युले मुलुकले अपुरणीय क्षति व्यहोरेको भन्दै मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे । दिपप्रज्वलन कार्यक्रममा संचारकर्मी, व्यवसायी, जनप्रतिनिधि लगायतको सहभागिता थियो ।
विमान दुर्घटनामा परी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य पौडेल लगायतको मृत्यु भएको थियो । प्रेस सेन्टर पदाधिकारीको बैठकमा सहभागी हुन पौडेल शुक्रबार काठमाडौँ गएका थिए । पदाधिकारीको बैठक सकेर आइतबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम थियो । प्रधानमन्त्रीको व्यस्तताका कारण उनलाई आइतबार बिहान भेट्न सम्भव नभएपछि पौडेलले आफ्नो दिउँसो २ बजेको टिकट बिहान सारेर पोखराका लागि उडेका थिए ।
सानै उमेरदेखि पत्रकारितामा होमिएका पौडेल सानैदेखि मिहेनती थिए। पोखराका अग्रज पत्रकार प्रेस स्वतन्त्रता सेनानी बद्री विनोद खनाल (प्रतीक) का अनुसार पौडेलले १५÷१६ वर्षको उमेरदेखि नै पत्रकारिता सुरु गरेका थिए ।
उमेरले ३७ वर्ष पुगेका पौडेल नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य, नेपाल पत्रकार महासङ्घ गण्डकीका संस्थापक अध्यक्ष, महासङ्घ कास्कीका पूर्वउपाध्यक्ष एवं प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्षसमेत भइसकेका थिए । पौडेल तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराको प्रेस संयोजकका रुपमा समेत काम गरेका थिए । २०७५ मा विवाह गरेका पौडेलकी एक छोरा पनि छन्।
पोखराबाट प्रकाशित हुने हटलाइन राष्ट्रिय दैनिकको सञ्चालकसमेत रहेका पौडेल रेडियो अन्नपूर्ण, नेपाल टेलिभिजन, हिमाल खबर पत्रिकालगायतका सञ्चारमाध्यममा काम गरेको थियो । ७२ जना सवार विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये सोमवारसम्म ६९ जनाको शव फेला परेको छ ।