पोखरा । पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यती एयरलाइन्सको एटिआर–७२ विमान दुर्घटनामा ६९ जनाको शव फेला परेको छ । आइतबार ६३ शव भेटिएकोमा सोमबार बिहान थप ५ वटा शव फेला पारिएको र भैर्खरै १ जनाको शव फेला प्रहरीले जनाएको छ । चार जना अझै फेला पर्न सकेका छैनन् । पोखरा–७ घारीपाटन र पोखरा– १५ नयाँगाउँस्थित सेती नदीको खोचको अफ्ठ्यारो स्थानमा जहाज दुर्घटना भएकाले खोजी र उद्धारमा केही समस्या परेको हो ।
कास्की प्रहरीका निमित्त सूचना अधिकारी एवं निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार भेटिएका सबै शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । अहिले शवको पहिचानको काम भइरहेको छ । ‘हालसम्म ३५ शवको पहिचान भइसकेको छ,’ खड्काले भने, ‘शवको पहिचानपछि पोष्टमार्टम सुरु हुनेछ ।’
कास्कीको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार पोष्टमार्टम पछि शव आफन्तको जिम्मा लगाइनेछ । शव जिम्मा लगाउन शव बाहन र एम्बुलेन्स तयार पारिएको छ । पहिचान नभएका, विदेशी र काठमाडौंकाको शव हेलिकोप्टरमार्फत काठमाडौं पठाइने योजना रहेको केसीले बताए ।