Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन

काठमाण्डौं । सरकारले आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सबै वायुसेवा कम्पनीहरूलाई आ–आफ्ना सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको हो ।

बैठकपछि सरकारका प्रवक्तासमेत रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले भने, ‘दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सरकारले आन्तरिक उडानमा रहेका सबै विमानको प्राविधिक परीक्षण गर्न सबै वायुसेवा कम्पनीहरूलाई निर्देशन दिने निर्णय गरेको छ ।’

पोखरामा आज बिहान भएको यती एयरको एटिआर विमान दुर्घटनापछि प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो । 

बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन तथा जाँच आयोगसमेत गठन गरेको छ । आयोगको सदस्यसचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव बुद्धिसागर लामिछाने, सदस्यहरूमा नेपाली सेनाका अवकाशप्राप्त उपरथी ९क्याप्टेन० दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनील थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराजजंग थापा छन् । 

आयोगलाई दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा अपनाउनुपर्ने विषयमा सुझावसहितको प्रतिवेदन ४५ दिन भित्र बुझाउन निर्देशन दिइएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update