Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
विमान दुर्घट्नाको छानबिन गर्न आयोग गठन

काठमाडौँ । सरकारले पोखरामा आइतबार भएको यतिको जहाज दुर्घटनाको छानबिन गर्न आयोग गठन गरेको छ ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकले गैर-सैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१ बमोजिम छानबिन गर्न जाँच पाँच सदस्यीय आयोग बनाउने निर्णय गरेको हो ।

जाँच आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहने छन् भने सदस्यहरुमा नेपाली सेनाका अवकाश प्राप्त उपरथि दीपकप्साद बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनील थापा, हवाई मेन्टिनेन्स इन्जिनियर एकराजजंङ थापा र सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्‍ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।

आयोगलाई दुर्घटनाको जाँचका लागि ४५ दिनको समय तोकिएको छ । आयोगले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा यस्ता दुर्घटना हुन नदिनका लागि अपनाउनुपर्ने वा गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन तयार गर्ने छ ।

साथै बैठकले नेपालमा आन्तरिक उडान गर्ने सबै विमानहरुको प्राविधिक परीक्षण गर्नुपर्ने र त्यसको अनुगमन नागरिक उड्‍ययन प्राधिकरणले गर्ने पनि निर्णय गरेको छ ।

सरकारले विमान दुर्घटनाको शोकमा माघ २ गते सोमबार सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ । त्यस्तै घटनाको बारेमा जानकारी लिन चाहने परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने पनि सरकारले निर्णय गरेको छ ।

विमान दुर्घटनामा परेकाहरुको पार्थिक शरीर बुझ्न र आफ्नो ठाउँमा लैजान सहजीकरण गर्ने पनि उपप्रधानमन्त्री बिष्णु  पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update